राजनीति

सिरियामा भइरहेको नरसंहार रोक्न विद्यार्थी संगठनको माग

सिरियाका बालबालिकामाथि भएको नरसंहार घटनाको विरोधमा मंगलबार झापाको शिवसताक्षी नगरपालिकाको दुधेस्थित राष्ट्रिय रमणीय विद्यालयका विद्यार्थीले सडकमा निकालेको जुलुस प्रदर्शन । तस्बिर : रासस

काठमाडौं – सिरियामा भइरहेको बमवारी र नरसंहार रोक्न सम्बन्धित पक्षलाई विभिन्न विद्यार्थी संगठनले आग्रह गरेका छन्। 

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (छैठौँ), समाजवादी विद्यार्थी फोरमलगयत विद्यार्थी संगठनले मंगलबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सिरियामाथि भइरहेको नरसंहार रोक्न माग गरेका हुन्। 

सिरियामा गरिएको पछिल्लो आक्रमणको भत्र्सना गर्दै शान्ति स्थापना गराउने कार्यमा प्रभावकारी भूमिका निभाउन राष्ट्रसंघ समेतलाई आह्वान गरिएको अनेरास्ववियूका अध्यक्ष नवीना लामाले जानकारी दिइन्। 

राष्ट्रसंघको सुरक्षा परिषद्ले ३० दिने संघर्ष विरामको प्रस्ताव पारित गरेको केही घण्टा नबित्दै सिरियामा शुरु भएको हिंसात्मक हमलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सिरियामा पछिल्लो समय सरकार र विद्रोही दुवै पक्षले प्रयोग गरिरहेको रसायनिक हतियारको प्रयोग रोक्न माग गरिएको पनि अध्यक्ष लामाले बताइन्। 

विज्ञप्तिमा राष्ट्रसंघको युद्ध विराम प्रस्तावलाई सहर्ष स्वीकार गर्दै दुवैको तर्फबाट भइरहेको आक्रमण रोकेर समस्याको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरिएको छ। 

प्रकाशित: १५ फाल्गुन २०७४ १६:१३ मंगलबार

सिरियामा भइरहेको नरसंहार रोक्न विद्यार्थी संगठनको माग