राजनीति

‘भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब चल्नेवाला छैन’

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन्।

नेपाल मगर संघको ३६औँ स्थापना दिवस तथा २६औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले मुलुकमा शान्ति र सुशासन कायम नगरेसम्म मुलुक समृद्ध हुन नसक्ने बताए। ‘भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन,’ उनले भने। 

गृहमन्त्री थापाले विदेशिएका युवालाई स्वदेशमा रोजगार प्रदान गर्नका लागि आर्थिक विकास र समृद्धि आवश्यक रहेको भन्दै दिगो शान्ति र आर्थिक विकासका लागि वर्तमान सरकार लाग्ने बताए। 

मगर समुदायबाट गृहमन्त्री बनेका थापाले मुलुक निर्माणका लागि मगर समुदायको महत्वपूर्ण भूमिका रहेको बताउँदै राज्यबाट मगर समुदायले सोचेजस्तो अधिकार पाउन नसकेको उल्लेख गरे। ‘राज्यको नेतृत्व तहमा मगर समुदायले केही अधिकार पाए पनि अरू स्थानमा अधिकार कम छ,’ उनले भने।

प्रकाशित: १५ फाल्गुन २०७४ ११:५१ मंगलबार

भ्रष्टाचार घूसखोरी नातावाद कृपावाद अब चल्नेवाला छैन