राजनीति

को को बन्दैछन् मन्त्री ?

काठमाडौं- मन्त्रीहरुको सपथ कार्यक्रम ४ बजेलाई राख्न राष्ट्रपति कार्यालयमा औपचारिक जानकारी गराइसकिएको छ। तर मन्त्रिमण्डलमा को को सहभागी हुँदैछन् भन्ने नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन। बिहानमात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको थियो। दाहालले माओवादीबाट मन्त्री बन्नेको सूची प्रधानमन्त्री ओलीलाई बुझाएका थिए।

दाहालले बुझाएको सूचीमा रामबहादुर थापालाई गृहमन्त्रीमा सिफारिस गर्दा वर्षमान पुनलाई कुन मन्त्रालय दिने भन्नेबारे ओली र दाहालबीच छलफल भएको माओवादी निकट स्रोतले बताएको छ। पुनले आफुलाई गृहमा दावी गर्दै आएका थिए। माओवादीबाट मातृका यादव, विना मगरको नामबारे छलफल भएको छ। यता नारायणकाजी श्रेष्ठ पक्षलाई मिलाउन भन्दै गिरिराजमणी पोखरेललाई अन्तिम समयमा समेटिएको स्रोतको दावी छ।  यस्तै अहिलेसम्म मन्त्री नबनेका देवेन्द्र पौडेललाई मन्त्री बनाउन माओवादीमा छलफल भएको छ। पौडेलको नाम हट्दा जनार्दन शर्मालाई पुन: चिठ्ठा परेको स्रोतको दावी छ। दाहालले ओलीलाई बुझाएको नाम बाहिर आएको छैन। माओवादीका सात मन्त्रीले सपथ गर्नेछन्।

एमालेमा यस्तो छ सम्भावना

 एमालेमा महासचिव इश्वर पोखरेललाई अर्थको जिम्मेवारी दिने तयारी छ। सचिव प्रदिप ज्ञवालीलाई अर्थमा लैजाने तयारी गरिए पनि पोखरेलले अर्थको दावी नछोडेपछि ज्ञवालीलाई अर्को मन्त्रालयको खोजी गरिएको छ। ज्ञवालीलाई परराष्ट्रको जिम्मेवारी दिने तयारी भएको एक नेताले बताए। उता संघीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याउने प्रयास जारी छ। फोरम सरकारमा आए परराष्ट्र दिने तयारी भएको पनि बालुवाटार स्रोतको भनाई छ।

एमाले सचिव योगेश भट्टराईको नाम पनि मन्त्री बन्ने सूचीमा छ। उनलाई सूचना तथा सञ्चारमन्त्रालयमा पठाउने तयारी छ। भट्टराई एमालेका प्रचार विभाग प्रमुख पनि हुन्। माधव नेपाल खेमाबाट उनलाई ओलीले समेट्न खोजेका छन्। यस्तै पोखराका रविन्द्र अधिकारीलाई भौतिक योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ। भट्टराई र अधिकारी मन्त्रिमण्डलमा नयाँ अनुहार हुनेछन्। भानुभक्त ढकाल अर्का सम्भावित मन्त्री हुन्। सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा लगायतको नामबारे पनि एमालेमा छलफल भएको छ।

सम्भावित पात्रहरुलाई बधाई तथा शुभकामना आउन थाले पनि आफुहरुले अहिले सम्म औपचारिक जानकारी नपाएको एक नेताले बताए। ‘आफ्नो नामबारे छलफल भए पनि आधिकारिक जानकारी पाएको छैन’, एक एमाले नेताले नागरिकसँग भने, ‘तयारी अवस्थामा बसेका छौं के हुन्छ हेरौ।’

 

प्रकाशित: १४ फाल्गुन २०७४ ०७:४१ सोमबार

को को बन्दैछन् मन्त्री