मधेस प्रदेश सरकारले स्वाभिमान दिवस मनाइरहँदा सत्ताधारी जनमत पार्टी सरकार विरुद्ध खनिएका छन्।
जसपा नेतृत्वको मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले सरकार भ्रष्टाचारमा डुबेको र मधेसमा जङ्गल राज चलाएको टिप्पणी गरेको छ।
विगत १ वर्षको जसपाको मुख्यमन्त्री रहँदा देखाउन लायक एउटै काम भएन, बरु जनमत पार्टीले सुरु गरेका महत्त्वपूर्ण कृषि योजनाहरू तथा प्रदेश साक्षरता कार्यक्रमहरूलाई समेत जसपाका मुख्यमन्त्री र अर्थ मन्त्रीले मिलेर चलाउन दिएका छैनन् सिके राउत नेतृत्वको जनमत पार्टीको टिप्पणी छ।
मधेसमा विद्यमान रहेको जंगलराज र भ्रष्टाचारका कारण सङ्घीयता समेत बदनाम हुँदै आएको छ, मधेसको नाम नै कलङ्कित हुँदै आएको छ।
जनमतले भ्रष्टाचारका दश काण्ड छानबिन गरी कारबाही हुनुपर्ने माग समेत गरेका छन्। १० करोड ३३ लाखको भ्रष्टाचारको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा मुद्दा दर्ता भएको जनमतले उल्लेख गरेको छ। मुख्यमन्त्री स्वच्छता अभियानमाको झन्डै १ अर्ब २८ करोड बजेटमा अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिनको क्रममा रहेको जनाएको छ।
मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरी शिक्षा बिमाको ६ हजार फाइल गायब गरी बिमा रकम खातामा जम्मा नगरेको जनमतको आरोप छ।
मधेस प्रदेशको गौरव जानकी मन्दिरको विद्युतीकरण एवं सौन्दर्यीकरणमा करोडौँको भ्रष्टाचार भएको उनको आरोप छ। झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सर्लाहीको नाममा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको भन्दै अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर भएको उल्लेख छ।
मधेस प्रदेश सरकारद्वारा शहीद परिवारलाई वितरण गर्ने भनी ल्याइएको भैँसी वितरणमा शहीद परिवारलाई ठगेको जनमतको आरोप छ।
विधि र प्रक्रिया मिचेर अर्थमन्त्रीले रकमान्तर र अनुदानका नाममा आफ्ना नेता कार्यकर्ताहरूलाई वितरण गरेको, विशेष समितिद्वारा छानबिन भइराखेको उल्लेख छ।
कृषि अनुदान तथा कोल्ड स्टोर निर्माणमा भ्रष्टाचार भएको जनमतको आरोप छ । सर्लाहीको भरत तालमा ४५ करोड भ्रष्टाचार काण्ड सार्वजनिक लेखा समितिद्वारा ठहर गरिएको जनमतको आरोप छ। मधेस प्रदेश सरकारले कमिसनका लागि मात्र करोडौँ रुपैयाँ खर्च गरेर खरिद गरिएका बसहरू कवाडी बनाइएको आरोपसहित जनमतले मधेस सरकारमाथी छानबिन हुनुपर्ने उल्लेख गरेको छ।
मधेस प्रदेश सरकारमा सहभागी जनमत सोही सरकारमाथी खनिनुको एउटा कारण हो मधेस कृषि विश्वविद्यालयको लागि विनियोजित ३१ करोड रुपैयाँको जस पाउने होडबाजी।
यो ३१ करोड आफूले ल्याएको सिके राउतको जिकिर छ। उनले यसमा टिप्पणी गर्दै लेखेका छन्, रकाम गर्ने कालू, मकै खाने भालू !'
बजेट ल्याउने आफू तर कार्यक्रमको प्रमुख अतिथि जसपा अध्यक्ष उपेन्द्र यादवलाई बनाउने भन्दै राउतको आक्रोश छ। राजविराज जहाँ यो विश्वविद्यालय छ सो निर्वाचन क्षेत्रबाट उपेन्द्र यादवलाई पराजित गरी सिके राउत प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। आफ्नो निर्वाचन क्षेत्रमा उपेन्द्र यादवको प्रभाव बढ्न थालेपछि राउत चिढिएर मधेस सरकार र जसपामाथी खनिएको बताइन्छ।
प्रकाशित: ३ माघ २०८० १०:१२ बुधबार