राजनीति

‘सदाचारयुक्त राजनीति गर्छु’

बुटवल – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सदाचारयुक्त राजनीति गर्ने बताएका छन्। नयाँ शक्ति पार्टी, नेपाल संघीय परिषद्को चौथो विस्तारित बैठकको निर्णय सार्वजनिक गर्न शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पेशा र व्यवसायजस्तो ढंगबाट अघि बढिरहेको राजनीतिलाई आफूहरूले रूपान्तरण गर्ने बताए।

उनले देशको आर्थिक आधारमा अहिले परिवर्तन आए पनि आफ्ना आसेपासे पोस्ने र बहुसंख्यक जनता बिपन्न नै रहने विकृत खालको रहेको बताए । आफ्नो पार्टी जन्मेर भर्खर दुई वर्षको भएको भन्दै भट्टराईले नयाँ कुरा स्थापित हुन समय लाग्ने बताए । नया“ शक्ति अब पुरानो पार्टीमा फर्किने सम्भावना नरहेको भन्दै भट्टराईले आफ्नो विचारमा अन्य पाटीलाई रूपान्तरण गर्ने दाबी गरे। 

राजनीतिलाई स्वयंसेवी कार्य नबनाई वैयक्तिक लाभ, सुख, सुविधा र कमिसन खोरहरूको चक्रमा सीमित गराइएकाले विकल्पमा जनताले नयाँ शक्तिलाई अंगिकार गर्दै जाने भट्टराईले विश्वास व्यक्त गरे।

छलफलसत्रमा संयोजक भट्टराईले ‘नयाँ शक्तिको दुई वर्ष ः वैकल्पिक राजनीतिको अपरिहार्यता’ शीर्षकको राजनीतिक, सांगठनिक र व्यवस्थापकीय प्रतिवेदन प्रस्तुत गरेको पत्रकार सम्मेलनमा नयाँ शक्ति पार्टीका नेता नवराज सुवेदीले जानकारी दिए।  

लुम्बिनीमा यही फागुन ९ देखि १२ गतेसम्म चलेको विस्तारित बैठकले विभिन्न प्रस्ताव पारित गरेको सुवेदीले बताए। 

बैठकद्वारा पारित प्रस्तावमा समाजको गत्याबरोध समाधान र रूपान्तरणको माध्यमका रूपमा राजनीतिलाई लिनुपर्ने, देशको सामाजिक, आर्थिक रूपान्तरण गर्ने साधनका रूपमा राजनीतिलाई ग्रहण गर्नुपर्ने, देश विकासका लागि समृद्धिको स्पष्ट मार्गचित्र हुनुपर्ने, दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने, समावेशी समानुपातिक र सहभागितामूलक लोकतन्त्र नै समुन्नत समाजवादको आधार हुनेलगायत रहेको सुवेदीले बताए। 

त्यसैगरी सांगठनिक सवालमा विस्तारित बैठकले ‘भिजन ५ र मिसन ५’ नामक सांगठनिक पुनर्गठन प्रस्ताव अनुमोदन गरेको सुवेदीले जानकारी दिए । यसअन्तर्गत वैचारिक–राजनीतिक मार्गदर्शनसँगै संगठनात्मक शक्ति र संसदमा उपस्थिति दुवै हिसाबले शक्तिशाली तेस्रो ध्रुव बनाइने नया“ शक्ति पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

संगठनात्मक संरचनालाई वैज्ञानिकपन दिन कार्यकारी विज्ञ र संरक्षक परिषद् गरी समतलीय संरचना नयाँ शक्तिले अघि सारेको विज्ञप्तिमा उल्लेख छ । कार्यकारी समितिलाई दुई अंक अर्थात् ९९ मा कायम गरिएको र महाधिवेशन आयोजक समितिको अभिन्न अंगका रुपमा केन्द्रीय कार्यकारी समितिसहित ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् गठन गरिएको सो पार्टीले जनाएको छ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन एक वर्षभित्र गर्ने निर्णय गर्दै बैठकले  प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ  । विस्तारित बैठकले भट्टराईलाई सर्वसम्मतिले पुनः संयोजक पदमा चयन गरेको छ।

बैठकले दस्तावेज परिमार्जन गर्नका लागि संयोजक भट्टराईको संयोजकत्वमा देवीप्रसाद ओझा, डम्बर खतिवडा, गंगानारायण श्रेष्ठ र कल्पना धमला रहेको ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको सुवेदीले जानकारी दिए । त्यसैगरी महाधिवेशन आयोजक समितिको प्रथम बैठकले प्रदेश इन्चार्जहरू निश्चित गरेको छ । जस अन्तर्गत प्रदेश १ मा राजेन्द्र किराँती, २ मा रामरिझन यादव, ३ मा गंगा नारायण श्रेष्ठ, ४ मा रुद्र बहादुर गुरुङ, ५ मा नवराज सुवेदी, ६ मा सरुण बाठामगर, ७ मा कृष्ण कुमार चौधरी र प्रवास प्रदेशमा हिसिला यमीलाई इन्चार्ज तोकिएको छ । त्यसैगरी, केन्द्रीय कार्यालय संयोजकको रुपमा राजु नेपाललाई जिम्मेवारी दिइएको र प्रवक्तामा प्रशान्त सिंह कायम रहेको नया शक्तिले जनाएको छ। 

यसैबीच पार्टीले नाम फेर्ने भएको छ।  पार्टीको शनिबार सम्पन्न  संघीय परिषद्को चौथो विस्तारित बैठकले पार्टीको नाम  फेर्ने निर्णय गरेको हो। 

 बैठकले  ‘भिजन ५ र मिसन ५’ नामक पार्टीको  सांगठनिक पुनर्गठन प्रस्ताव अनुमोदन गरेको छ । यसैगरी बैठकमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन एक वर्षभित्र गर्ने निर्णय गरिएको छ। 

प्रकाशित: १३ फाल्गुन २०७४ ०३:५३ आइतबार

सदाचारयुक्त राजनीति गर्छु