राजनीति

सभामुखमा लेखराज भट्टको दाबी

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता एवं ७ नम्बर प्रदेशका इन्चार्ज लेखराज भट्टले सभामुख पदमा दाबी गरेका छन्। वाम गठबन्धनसहित पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमालेले राष्ट्रपति र माओवादी केन्द्रले सभामुख पाउने भागवण्डा भएसँगै भट्टले आफ्नो दाबी प्रस्तुत गरेका हुन्। माओवादीमा कृष्णबहादुर महरा मन्त्रिमण्डलमा नजाने भएपछि उनको पनि सभामुखमा दावी छ। महराको सम्भावना रहेकै बेला कञ्चनपुर १ बाट निर्वाचित सांसद विना मगरलाई ७ नम्बर प्रदेशबाट मन्त्रीमा सिफारिस गर्दै भट्टले सभामुखमा दावी गरेका हुन्।  

केपी शर्मा ओली नेतृत्वको सरकारमा भावी मन्त्रीका रुपमा चर्चा गरिएपनि भट्टले अध्यक्ष पुष्पकमल दाहालसमक्ष सभामुखमा इच्छा देखाएको स्रोतले बतायो। ‘आफू मन्त्री नबन्ने निर्णयसहित उहाँले प्रदेश ७ बाट विना मगरलाई मन्त्रीका लागि सिफारिस गर्नुभएको हो,’ उनीनिकट स्रोतले नागरिकसँग भन्यो– ‘सभामुखमा उहाँको जोडबल छ।’

नेता भट्टले खुमलटारस्थित अध्यक्ष दाहालको निवास पुगेर सभामुखका लागि आग्रह गरेका थिए। ‘मेरो चाहना सभामुख वा गृहमा हो। यी दुईमध्ये एउटा जिम्मेवारी दिनुस्,’ अध्यक्ष दाहालसँग लेखराजको भनाई उद्धृत गर्दै स्रोतले भन्यो। जवाफमा अध्यक्ष दाहालले सबैलाई मिलाएर अघि बढ्ने र उपयुक्त जिम्मेवारी दिइने बताएका थिए।

गृहमा वरिष्ठ नेता रामबहादुर थापा र वर्षमान पुनले दाबी गरेपछि पछिल्लो समय भट्ट सभामुखमा केन्द्रीत भएको स्रोतको भनाई छ। सभामुखमा माओवादी केन्द्रबाट कृष्णबहादुर महराले पनि दाबी गरिरहेका छन्।

माओवादी केन्द्र प्रदेश ७ प्रचारप्रसार विभाग प्रमुख ओमविक्रम भाटले सभामुखमा लेखराज भट्टको दाबी रहेको बताए। ‘पार्टीमा योगदान र त्याग गर्ने दिग्गज नेताले मन्त्री त्यागेर महिलालाई अवसर दिनुभएको छ। अब उहाँको चाहना सभामुख नै हो’, उनले भने।

मन्त्रीमा विना मगर निश्चित

यसैबीच केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी पोलिटब्यूरो सदस्य विना मगर मन्त्री बन्ने निश्चित भएको छ। माओवादीनिकट स्रोतका अनुसार मन्त्रीमा विनासहित रामबहादुर थापा बादल र मातृका यादवको नाम टुंगो लागिसकेको छ।

विना मगरलाई मन्त्रीमा प्रदेश नम्बर ७ कमिटीले सिफारिस गरेको थियो। माओवादीको भागमा परेका सात मन्त्रालयमध्ये प्रदेश ७ को भागमा एउटा परेको र त्यसमा विनालाई पठाइएको प्रचारप्रसार विभाग प्रमुख भाटले जानकारी दिए। ‘प्रदेश इन्चार्जले आफू ‘ब्याक’ भएर विनालाई मन्त्रीमा सिफारिस गर्नुभएको हो, अब उहाँ सभामुखको दाबेदार हुनुहुन्छ।’

प्रकाशित: १२ फाल्गुन २०७४ ११:२९ शनिबार

सभामुखमा लेखराज भट्टको दाबी