राजनीति

आज मध्यरातबाट राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यहरूको निर्वाचनको आचारसंहिता आज रातिदेखि लागू गर्दै छ। आज मध्यरातबाट आचारसंहिता लागू हूने आयोगले जनाएको छ।

अन्य निर्वाचनमा जस्तै आचारसंहिता लागू भएपछि उम्मेदवारहरूले औपचारिक रूपमा भोट माग्न पाउँदैनन्। निर्वाचनसम्बन्धी कुनै पनि औपचारिक कार्यक्रमहरू पनि गर्न पाइँदैन। साथै उम्मेदवारहरू वा उनका समर्थक तथा शुभचिन्तकहरूले कुनै पनि सामाजिक सञ्जाल भोट माग्ने पनि गर्न नपाउने आयोगले जनाएको छ।

आयोगको निर्वाचन आचारसंहिता समाजका विभिन्न सार्वजनिक पद धारण गरेका व्यक्तिलाई लाग्नेछ। सरकार र सरकारका मन्त्री, कर्मचारी, राजनीतिक दल र नेता, उम्मेदवारहरू, संवैधानिक निकायका अधिकारी, पत्रकार, सार्वजनिक पदमा बसेका व्यक्ति, पर्यवेक्षक, निजी संघसंस्थालगायतमा आचारसंहिता आकर्षित हुनेछ।

आचारसंहिताले प्रचारप्रसार सामग्रीमा पनि प्रतिबन्ध लगाएको छ। त्यस्ता सामग्री निर्वाचनको ४८ घण्टा अगाडी नै मतदान स्थलको तीन सय मिटर वरपरबाट हटाउनु पर्छ। आचारसंहिता कार्यान्वयनका लागि आयोगले सरोकारवाला निकायहरूलाई आग्रह पनि गरिसकेको छ।

मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदाताका रूपमा भाग लिनेछन्।

राष्ट्रिय सभा ५९ सदस्सीय छ। यीमध्ये एक तिहाइका सदस्यको कार्यकाल छ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकीको कार्यकाल दुई वर्ष निर्धारण गरिएको छ। गोला प्रथा अनुसार छ वर्षको कार्यकाल पुरा गरेका एक तिहाइ सदस्यहरूको पद आगामी फागुन २० गतेबाट रिक्त हुदैछ। तीनै पदमा माघ ११ गते निर्वाचन हुन लागेको हो।

प्रकाशित: २ माघ २०८० ०१:४८ मंगलबार

निर्वाचन आयोग राष्ट्रिय सभा निर्वाचन आचारसंहिता सार्वजनिक पद धारण