राजनीति

महरालाई नयाँ जिम्मेवारीमा पठाउने माओवादी तयारी

काठमाडौं- मन्त्रिमण्डलमा नजाने निश्चित भएपछि नेकपा माओवादी केन्द्रले नेता कृष्णबहादुर महरालाई नयाँ जिम्मेवारीमा पठाउने तयारी गरेको छ। माओवादीले प्रतिनिधि सभाको सभामुख आफ्नो कोटामा रहेकोले उक्त जिम्मा महरालाई दिने तयारी गरेको माओवादी स्रोतले जनायो।

मन्त्री छान्न बसेको सचिवालय बैठकमा समेत अन्य राजकीय पदमा जाने नेताहरुबारे चर्चा भएको एक नेताले बताए। बुधबारको सचिवालय बैठकमा समेत ‘महराजीलाई भावी सभामुख’ भन्दै नेताहरुले बधाई दिएको एक नेताले बताए। सभामुखमा ओनसरी घर्ती दोहोरीने चर्चा समेत थियो। तर दाहालले महरालाई सभामुखमा पठाउने चाहना गरेपछि त्यो सम्भावना टरेको एक नेताले बताए। गृहमन्त्रालयमा रोल्पाकै वर्षमान पुनलाई प्रस्ताव गरेर महराले सभामुख सुरक्षित गरेको समेत माओवादी स्रोतको भनाई छ। ‘अन्य नेताहरुले गृहको अपेक्षा गरेको समयमा महराले पुनलाई प्रस्ताव गरेर आफुलाई सभामुखमा सुरक्षित गरेको देखिएको छ’, एक नेताले भने, ‘सबैलाई मान्य हुने अनुहार भएकोले सम्भवत पार्टीमा उहाँकै नाममा सहमति हुन्छ।’

महराले यस अघिका सरकारमा माओवादीको नेतृत्व गरेर उपप्रधान तथा अर्थ, गृह, परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका छन्।

 

प्रकाशित: ११ फाल्गुन २०७४ ०८:५१ शुक्रबार

महरालाई जिम्मेवारीमा पठाउने माओवादी तयारी