राजनीति

प्रदेशमन्त्री पाउँदा डोल्पालीमा खुसीयाली

नन्दसिंह बुढा

डोल्पा –  पिछडिएको र उपेक्षित गरिएको डोल्पाले संघीय सरकारको पहिलोपटक प्रदेशमन्त्री पाएपछि डोल्पाली जनतामा खुसीयाली छाएको छ । डोल्पा जिल्ला प्रदेश क्षेत्र (क) बाट नेकपा एमालेको तर्फबाट प्रदेश सभासदस्यमा निर्वाचित भएका नन्दसिंह बुढा मन्त्री भएपछि डोल्पाली जनतामा खुसीयाली छाएको हो।

बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्माल्ने गरी आइतबार मन्त्री पदको जिम्मेवारी पाएका छन् । जडिबुटी पर्यटन, उद्योग र वातावरणका लागि प्राकृतिक भण्डारका रूपमा रहेर पनि केन्द्रिकृत राज्यसत्ताका कारण सधंै उपेक्षित बन्दै आएको डोल्पालाई आर्थिक, सामाजिक, शैक्षिक र पर्यटन विकासका  माध्यमबाट समृद्धिको बाटोमा अगाडि बढाउन बुढाको मन्त्री पदसँगै झन सहयोग पुग्ने आशाले डोल्पालीमा खुशियाली छाएको हो।

कलिलै उमेरमा मन्त्री बनेका बुढाले जिम्मेवारी पाएको मन्त्रालयमा गहन जिम्मेवारीका साथ काम गरि डोल्पा र डोल्पालीको पहिचान बनाउने अपेक्षा डोल्पालीले गरेका छन् । आइतबार मन्त्रीको सपथ खाएर महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्मालेका मन्त्री नन्दसिंह बुढाले पद ग्रहण मात्र ठुलो नभई जनताले चाहेका र अपेक्षा गरेका काम पुरा गर्न सके मात्र आपूm मन्त्री भएको गर्व गर्ने बताए । संघीय सरकारमा डोल्पाबाट प्रदेशमा पहिलो मन्त्री भएकाले डोल्पाली जनताको मात्र नभई प्रदेश नं ६ का जनताको भरोसालाई आत्सात गरेर काम गर्दै जानेसमेत मन्त्री बुढाले प्रतिबद्धता व्यक्त गरे।

राजनीतिक इतिहासमा माथिल्लो ओहदामा पुग्ने क्रममा विगतमा राज्य र सहायक मन्त्रीसम्म पाएको डोल्पाले २०६४ मा भएको संविधानसभाको निर्वाचनपछि डोल्पाबाट समानुपातिकबाट सभासद् बनेकी सत्या पहाडीले शान्ति तथा पुनर्निर्माण मन्त्री बनेकी थिइन् । त्यसपछि डोल्पाले संघीय सरकार बनेपछि प्रदेश मन्त्री पाएको हो । पुरुषबाट बुढा पूर्ण मन्त्री पाउने पहिलो हुन्।
२०३२ सालमा डोल्पाको सदरमुकाम दुनैमा पर्ने तिप्ला गाउँमा जन्मेर लामो समयदेखि एमालेमा सक्रिय कार्यकर्ताका रूपमा रहेका मन्त्री बुढा २०७० सालमा नेकपा एमाले जिल्ला कमिटी डोल्पाका पार्टी सचिव आर्थिक विभाग प्रमुख भएर जिम्मेवारी सम्मालिसकेका छन्।

सरकारी जागिर छोडेर राजनीतिमा सक्रिय बनेका बुढा कम उमेरमै पार्टीको जिम्मेवार तहमा पुगेका थिए । स्थानीय तहको निर्वाचनमा नगरप्रमुखको दाबी गरेका बुढा पार्टीको सहमतिमै पछि हटेर प्रदेशसभा सदस्यमा अत्यधिक मत प्राप्त गरी विजयी भएका थिए।
पार्टीमा गरेको योगदान र क्षमताकै आधारमा मन्त्रीसम्म पुग्न सफल भएको पार्टीका जानकार छक्क धरला बताउँछन् । डोल्पा जिल्लाबाट प्रदेशमा मन्त्री बन्ने अवसर पाएपछि उनका गाउँ र सिंगो जिल्लामा धेरैले खुसीयाली मनाएका छन्।

प्रकाशित: ८ फाल्गुन २०७४ ००:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App