राजनीति

नेपालको माटो र आफ्नो पहिचान भुल्न सकिँदैन: पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो इतिहास, स्वतन्त्र र अस्तित्वलाई भुल्न नसकिने बताएका छन्। 

३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा बिहीबार एक सन्देश जारी गर्दै नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न नसक्ने जनाएका हुन्।

उनले भनेका छन्,‘आफ्नो इतिहास आफ्नो स्वतन्त्र र आफ्नो अस्तित्वलाई भुलेर हामी जे जसरी जतातता भड्किए पनि आखिर नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न सक्दैनौँ। त्यसैले पृथ्वीजयन्तीको यो शुभ घडीमा हामीले सम्झनै पर्दछ, नेपाल राष्ट्रका जनकलाई नेपाली मात्रका एकताका आधारलाई।’

राष्ट्र भनेको भूगोल मात्र नभएर जनताको साझा थलो हो भन्दै ज्ञानेन्द्रले राष्ट्र भनेको राष्ट्रवासी सबैले अनुभव गर्न सक्ने स्वतन्त्र सार्वभौम, मौलिक, साधिकारको धरोहर पनि हो भनेका छन्। ‘सबै जातजाति, सबै वर्ग समुदाय, सबै धर्म धारण गर्ने नेपाली एउटै सुन्दर बगैँचाका थरी थरी सुन्दर फुलहरु हुन्,’ उनले भने,‘हाम्रो राष्ट्र निर्माणको पूनितकामना यो हो।’  

राष्ट्र निर्माताबाट अभिव्यक्त धारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्न शाली बनाउनु पर्ने टड्कारो आवश्यकता अहिले रहेको जनाउँदै उनले भनेका छन्,‘त्यसैले यसका निम्ति हाम्रा राष्ट्रनिर्माताबाट भएका योगदान, कोरिएका मार्गचित्र तथा दिब्यउपदेशको स्मरण गर्दै त्यसको पदचापलाई पछ्याउँदै हामी अघि बढौँ।’

प्रकाशित: २६ पुस २०८० १३:०६ बिहीबार

पूर्वराजा ज्ञानेन्द्र शाह