राजनीति

‘नक्कली’छोरीलाई नागरिकताः वीरगञ्जका मेयर सिंहमाथि कारबाहीको माग गर्दै जाहेरी

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ। नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का सभापति मोहम्मद सहाबुद्दिनले नगर प्रमुख सिंहमाथि मंगलवार दिउँसो जाहेरी दरखास्त दर्ता गराएका हुन्।

सभापति सहाबुदिनले मेयर सिंहको एक मात्र छोरा भएको तर अहिले नक्कली छोरी बनाइ नागरिकता दिलाएकोमा जिल्ला प्रशासन कार्यालय प्रमुख समक्ष जाहेरी बुझाइ छानबिन गरी कारबाहीको माग गरेका छन्।

मेयर सिंहमाथि रुबिना श्रेष्ठ भन्ने युवतीलाई आफ्नो नक्कली छोरी बनाइ जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएको आरोप लागेको छ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली बाबु बनेर नागरिकता दिलाएको खुलासा भएपछि अहिले देशैभर यस विषयको चर्चा भइरहेको छ।

नेपालको नागरिकतासम्बन्धी कानुन उलङ्घन गरेर मेयर सिंह आफैँ नक्कली बाबु बनेर अर्कैकी छोरीलाई आफ्नी छोरी बनाएर वंशजको नागरिकता दिलाएका कागजी प्रमाण सार्वजनिक भएका छन्।

मेयर सिंहकी श्रीमती अन्नपूर्ण मानन्धरकाअनुसार राजेशमान र उनको एउटा मात्रै छोरा रहेको र कुनै धर्म सन्तान पनि नरहेको बताएकी छिन्। तर, मेयर सिंहले जिल्ला प्रशासन कार्यालय पर्सामा बाबुका रूपमा उपस्थित भएर रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएको गैर कानुनी भएको भन्दै चर्चा भइरहेको छ।

२०७५ साउन १३ गते वीरगञ्ज महानगर वडा नं. ३ बस्ने रुविना श्रेष्ठले जिल्ला प्रशासन कार्यालय पर्साबाट पहिलो पटक लिएको नागरिकता प्रमाणपत्रमा बुबाको नाम राजेशमान सिंह उल्लेख छ। २०७६ फागुन ८ गते प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले रुविना श्रेष्ठको नाममा प्रतिलिपि नागरिकता जारी गरेका छन्।

रुविनाको नागरिकतामा बुबाको नाम राजेशमान सिंह उल्लेख भए पनि आमाको नाम भने खुलाइएको छैन। नागरिकतामा किशोरीको जन्म मिति २०५९ असार ३० गते उल्लेख छ।

यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले झुटो कागजपत्र पेस गरेर किशोरीलाई वंशजको नागरिकता दिएको विषयमा अनुसन्धान हुने जानकारी दिए।

यता महानगर प्रमुख सिंहले पनि ११ वर्ष अघि सहाबुदिनमाथि नागरिकता प्रकरणमा कारबाहीको माग गर्दै मुद्दा दर्ता गराएका थिए।

२०७९ सालमा वर्तमान मेयर राजेशमान सिंहले वडा नं. ३ निवासी मोहम्मद सहाबुदिनविरुद्ध जाली प्रमाण पेस गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको भन्दै नागरिकता रद्द गरी अविलम्ब कानुनी कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेका थिए। पछि जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान हुँदै पर्सा जिल्ला अदालतमा मुद्दा पुग्यो।

अदालतले दुवै पक्षको सुनुवाइ गरी मंगलबार ११ वर्षपछि अन्तिम फैसला सुनाएको छ। जिल्ला अदालत पर्साकी न्यायधिश मोना सिहको एकल इजलासले दाबी नपुगेको भन्दै मुद्दा नै खारेज गरिदिएको सहाबुदिनले बताए।

लामो समयदेखि चल्दै आएको नागरिकतासम्बन्धी मुद्दा खारेज भएपछि नेता सहाबुदिनले राहत महसुस गरेका छन् भने आफू विरुद्ध नक्कली फोटोकपीको प्रयोग गरी नागरिकता मुद्दा लगाएर आफ्नो राजनैतिक भविष्य र चरित्र हत्या गर्ने प्रयास गरेका वीरगन्ज महानगर पालिकाका प्रमुख राजेशमानसिह विरुद्ध कडा कदम चालेको बताए।

नागरिकलाई प्राप्त कागजातः

जाहेरी दरखास्त
जाहेरी दरखास्त दिँदै सहाबुद्दिन

प्रकाशित: २६ पुस २०८० ०३:३६ बिहीबार

वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान सिंह कारबाही जिल्ला प्रशासन कार्यालय पर्सा पर्सा नागरिकता नक्कली छोरी नागरिकता दिलाएको