राजनीति

खर्चको विवरण बुझाउनुस् : निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भएको खर्चको विवरण यथाशक्य छिटो बुझाउन सम्पूर्ण उम्मेदवारलाई सूचित गरेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद आयोगले तोक्ने व्यवस्था रहेको छ।
निर्वाचनको अवधिमा भएको सम्पूर्ण खर्चको विवरण उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । राष्ट्रियसभा सदस्यका उम्मेदवारहरुले बढीमा रु ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने रकमको सीमा तोकेको थियो।

राष्ट्रियसभा सदस्यको निर्वाचन गत माघ २४ गते भई २८ माघमा परिणाम सार्वजनिक भएको थियो । राष्ट्रियसभा सदस्य निर्वाचनमा नौ राजनीतिक दलका ८१ जनाले उम्मेदवारी दिनुभएको थियो । आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदान केन्द्र स्थापना भएका जिल्ला निर्वाचन कार्यालय वा आयोगसमक्ष खर्चको विवरण पेश गर्न भनेको छ।   (रासस)

प्रकाशित: ३ फाल्गुन २०७४ ०६:०१ बिहीबार

खर्चको विवरण बुझाउनुस् निर्वाचन आयोग