राजनीति

राष्ट्रिय सभामा काँग्रेस इतर पक्षले माग्यो चार सिट, देउवा भने दुई सिटमै मनाउने पक्षमा

नेपाली कांग्रेसका नेताहरू केन्द्रीय कार्यसम्पादन समिति बैठक सारेर आन्तरिक छलफलमा जुटेका छन्।

दिउँसो १ बजेका लागि बोलाइएको नेपाली कांग्रेस बैठक ४ बजेका लागि सारेर छलफलमा जुटेका हुन्।

पार्टीभित्रको गुटगत सन्तुलन मिलाउन सभापति शेरबहादुर देउवा निवासमा नेता शेखर कोइराला, पूर्ण बहादुर खड्का, गगनकुमार थापा र रमेश लेखक छलफलमा जुटेका छन्।

सत्ता गठबन्धनसँग मिलेर चुनावी प्रतिस्पर्धा गर्दा पार्टीले पाउने १० सिटमा गुटगत भागबन्डा नमिल्दा पाँच नेताको बैठक लम्बिएको हो। नेता शेखर कोइराला पक्षले दश मध्य चार सिट आफ्नो पक्षले पाउनु पर्ने अडान राख्दै आएका छन्। तर, सभापति देउवा शेखर पक्षलाई दुई सिटमा मनाउने पक्षमा छन्।

प्रतिनिधिसभाको समानुपातिकतर्फ सहमहामन्त्री जीवन परियारलाई ल्याउँदा नेता गोपालमान श्रेष्ठलाई त्यति बेला नै राष्ट्रिय सभामा लैजाने नेताहरूले आश्वासन दिएका थिए। देउवाले सो कुरा इतर पक्षसँग राख्दै आएका छन् भने राष्ट्रपति रामचन्द्र पौडेल निकट एक जनालाई पनि राष्ट्रिय सभामा लैजानु पर्ने बताउँदै आएका छन्। देउवाले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई पनि समेटेर जानु पर्ने भन्दै देउवाले २ सिट भन्दा बढी दिन नसकिने बताउँदै आएका छन्।

प्रकाशित: २२ पुस २०८० ०८:२० आइतबार

नेपाली कांग्रेस नेता शेखर कोइराला