राजनीति

पुल बनाउन माग गर्दै प्रदेश सांसदले गरे चक्काजाम

वर्षौँदेखि अलपत्र रहेको पुल निर्माणको लागि प्रदेश सांसदसहितका स्थानीयले चक्काजाम गरेका छन्। हुलाकी राजमार्ग अन्तर्गत बागमती नदीमा वर्षौँदेखि अलपत्र रहेको पुलको निर्माण हुनुपर्ने माग गर्दै प्रदेश सांसद नागेन्द्र साहसहित चार पालिकाका स्थानीयले बुधबार दिउँसो चक्काजाम गरेका हुन्।

हुलाकी राजमार्ग अन्तर्गतको बागमती नदीस्थित बडहरवामा निर्माणाधीन पुल समयमा नबनेको भन्दै स्थानीयले चन्द्रनिगाहपुर–गौर सडकमा चक्काजाम गरेका थिए। उनीहरुले बम नहरमा सवारी साधन अवरुद्ध गरेर चक्काजाम गरेका हुन्।

पप्पु कन्स्ट्रक्सनले पुल निर्माणको ठेक्का लिएकोमा पिलर निर्माण पश्चात् पुल त्यत्तिकै रोकिएको छ। पुल निर्माण अवरुद्ध भएको करिब एक दशक बित्न लागिसकेको छ।

नेताहरुले सधैँ पुल निर्माणको आश्वासन दिने तर पुल निर्माणको काम अगाडि नबढ्दा स्थानीय आक्रोशित बनेका छन्। 

रौतहटको यमुनामाई गाउँपालिका, दुर्गा भगवती गाउँपालिका र राजदेवी नगरपालिकाका स्थानीय बासिन्दाले बम नहरमा जम्मा भएर पुल समयमै बन्नुपर्ने माग राख्दै चक्काजाम गरेपछि सरकारको ध्यान आकृष्ट हुने विश्वास रहेको छ। करिब तीन घण्टा चलेको चक्काजामले यातायात पूर्णतया प्रभावित पारेको थियो।

प्रकाशित: १८ पुस २०८० १२:४० बुधबार