राजनीति

यी हुन् तीन राजनीतिक खम्बा

सुर्खेत – आइतबारको पहिलो प्रदेशसभा बैठकमा एमाले, माओवादी केन्द्र र कांग्रेसको साझा प्रतिबद्धता थियो– ६ नम्बर प्रदेशको समृद्धिका लागि हामी सँगसँगै हिँड्नेछौं । पार्टीका तर्पmबाट यस्तो प्रतिबद्धता व्यक्त गर्ने तीन नेता थिए, क्रमशः यामलाल कँडेल, महेन्द्रबहादुर शाही र जीवनबहादुर शाही । ती तीनैजना अहिले संसदभित्र आ–आफ्नो पार्टीका संसदीय दलका नेता बनेका छन्।

विकासका दृष्टिले सबैभन्दा कमजोर भन्ने गरिएको यो प्रदेशमा अबको समृद्धिको रथ मुख्यतयाः यिनै नेताले तान्नुपर्नेछ । आकारमा सानो–ठूलो भए पनि साझा संकल्प र सहकार्यबिना प्रदेशको समुचित विकास असम्भव हुने स्पष्ट छ । ‘विकासका सवालमा केन्द्र सरकारका लागि यो प्रदेशसभा सधैं स्थायी प्रतिपक्षीका रूपमा रहनेछ,’ एमाले संसदीय दलका नेता कँडेलले पार्टीको तर्पmबाट बोल्दै गर्दा भनेको यो वाक्यांश निकै सोचनीय छ । उनको यो भनाइले संकेत गर्छ– भोलि प्रदेश र केन्द्रमा जसको नेतृत्वमा सरकार रहे पनि विकासका सवालमा सिंगो प्रदेशसभा एक ठाउँमा हुनेछ । अर्थात् संसदको निर्देशनमा प्रदेश सरकार पनि केन्द्र सरकारसँग पौठेजोरी खेल्नेछ।

माओवादी केन्द्रका नेता शाहीले त ‘प्रदेशको समग्र विकासको लागि संसदभित्र चारै दल ‘एक–दल’ हुने,’ प्रतिवद्धता व्यक्त गरेका छन् । संसदलाई साक्षी राखेर उनले भनेका छन्, ‘राजनीतिक रूपमा विभाजित मानसिकता छोडेर काम गर्नेछौं।’

सम्भवतः अहिलेको वाम गठबन्धन ‘स्पिरिट’लाई हेर्ने हो भने यी दुवै नेता सत्तापक्षका रूपमा रहनेछन् । शाहीले भन्ने गरेको ‘विकासरूपी डोजर’को स्टेरिङ यी दुईको हातमा हुनेछ।

२०५० को दसकमै हुम्लाको जिविस सभापति हुँदा नमूना विकासको गोरेटो कोरेर चर्चामा आएका कांग्रेस संसदीय दलका नेता शाहीको भूमिका पनि स्टेरिङ समात्नेभन्दा कम कदापि हुने छैन । ६ नम्बर प्रदेशको समृद्धिको लागि ‘६ ब’ (बाटो, बिजुली, विचार, वन, व्यवस्थापन र बजार)को सूत्र अघि सारेका उनी विकासरूपी डोजरलाई यही मार्गमा अघि बढाउन सहयात्री बन्नेछन् । ‘विकासको सवालमा यहाँ कोही पनि सत्तापक्ष र प्रतिपक्ष हुनेछैनौं,’ उनको यो भनाइले समृद्धियात्रालाई सहज बनाउन भूमिका खेल्नेछ।

भूगोलमा सबैभन्दा ठूलो र जनसंख्यामा सबैभन्दा सानो प्रदेश हो यो । बिराट भूगोलभित्र सम्भावनाको प्रचूर खानी छ । तर, अहिलेको अवस्था हेर्ने हो भने जनसंख्याको आभाभन्दा ठूलो हिस्सा गरिबीको मारमा छ। राष्ट्रिय योजना आयोगको पछिल्लो तथ्यांकअनुसार यहाँका ५१ दशमलव २२ प्रतिशत जनता गरिब छन् । समृद्धिको सबैभन्दा ठूलो मापक मानिने गरिबीसँग लड्ने लडाइँको नेतृत्व आ–आफ्नो दलको तर्पmतबाट यिनै तीन नेताले गर्नुपर्नेछ। ४० सदस्यीय ६ नम्बर प्रदेशसभामा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन्।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका राजनीतिशास्त्रका उपप्राध्यापक दुर्गाप्रसाद सापकोटा प्रदेशको समृद्धिको लागि सबैको भूमिका अपरिहार्य हुने भए पनि प्रदेशको सर्वोच्च जनप्रतिनिधिमूलक निकाय (संसद)मा दलको नेतृत्वमा रहनुले तीन नेता बढी जिम्मेवार हुने बताउँछन् । ‘प्रदेश ६ लाई सबल र समृद्ध बनाउनको लागि यी तीन प्रमुख ‘खम्बा’ हुन्,’ उनी भन्छन्, ‘यिनीहरूको सम्बन्ध र सहकार्यमा धेरै हदसम्म प्रदेशको भविष्य निर्भर छ ।’

प्रकाशित: २८ माघ २०७४ ०२:०३ आइतबार

यी हुन् राजनीतिक खम्बा