राजनीति

कांग्रेसका २०  महिला

काठमाडौं – नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ २० महिला नेत्री सांसद बन्ने भएका छन् । कांग्रेसले समानुपातिकमा जम्मा ४० सिट पाएको छ । प्रत्यक्षतर्फ २३ निर्वाचन क्षेत्रमा सीमित कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सुनिश्चित गर्न २० महिला सहभागी गराउनुपर्ने भएको हो। 

जनसंख्याका आधारमा दलहरुले दलित १३.८, आदिवासी जनजाति २८.७, खस आर्य ३१.२, मधेसी १५.३, थारु ६.६ र मुस्लिम ४.४ प्रतिशत सहभागी गराउनुपर्ने हुन्छ । जसअनुसार कांग्रेसले दलित ५, आदिवासी जनजाति १२, खस आर्य १२, मधेसी ६, थारू ३ र मुस्लिम २ लाई सांसद बनाउनुपर्ने देखिन्छ । २० महिला सहभागितालाई सुनिश्चित गर्न दलित ३, आदिवासी जनजाति ६, खस आर्य ६, मधेसी ३, थारू १ र मुस्लिम १ जना सहभागी गराउनुपर्ने हुन्छ। 

सूची क्रम संख्यामा निकै तल परे पनि समावेशी सिद्धान्तका आधारमा कांग्रेस, एमालेसहितका दलबाट सबै कलस्टरको पहिलो नम्बरमा परेका नेतालाई सांसद् बनाउनैपर्ने प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ को दफा ३४ ले व्यवस्था गरेको। 

समानुपातिक उम्मेदवार छनोटसम्बन्धी व्यवस्था गरेको निर्देशिकाको ३४ को उपदफा ३ मा उपदफा (१) बमोजिम कुनै समावेशी समूहका उम्मेदवारको नाम छनोट गर्दा त्यस्तो समावेशी समूहको माथिल्लो क्रममा भएका उम्मेदवारको नाम छनोट नगरी तल्लो क्रममा भएका उम्मेदवारको नाम छान्न पाइने छैन।

त्यसरी प्रतिनिधित्व गराउँदा खस आर्य समूहबाट केन्द्रीय सदस्यहरु बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर (अपांगता) पर्नेछन् । त्यस्तै, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डे पर्नेछन् । महिलातर्फ केन्द्रीय सदस्यहरु सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला सांसद हुनेछन् । त्यसपछि मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा पर्नेछन् । उनीहरुपछिको सूचीमा रुक्मणीदेवी कोइराला, मञ्जु खाँण, शिला खड्का रहे पनि सांसद बन्ने सम्भावना छैन।

त्यस्तै, मधेसी समुदायबाट उद्यमी विनोद चौधरी, स्मृतिनारायण चौधरी, नागेन्द्रकुमार राय पर्नेछन् भने महिलाबाट पार्टी कोषाध्यक्ष सीतादेवी यादव, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव र मीनाक्षी झा समेटिनेछन् । आदिवासी जनजाति समुदायबाट केन्द्रीय सदस्य बहादुरसिंह लामाका साथै उद्यमी कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा र दिव्यमणि राजभण्डारी पर्नेछन् । महिलातर्फ ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बु, हीरा गुरुङ, मीना सुब्बा र सुवर्ण ज्वारचन समानुपातिक सांसद बन्नेछन्। 

दलित समुदायअन्तर्गत केन्द्रीय सदस्यद्वय मानबहादुर विक र मीन विक सांसद बन्नेछन् । दलित महिलातर्फ सुजाता परियार, लक्ष्मी परियार र विमला नेपाली पर्नेछन् । यी तीनैजनाको नाम दोस्रो संविधानसभा समानुपातिक सूचीमा पनि थियो । थारू समुदायबाट पद्मनारायण चौधरी र पार्वती डिसी चौधरी पर्ने निश्चित छ । दोस्रो नम्बरमा रहेका हरिनारायण चौधरी र नमिताकुमारी चौधरीमध्य एकजना सांसद बन्नेछन्। 

त्यस्तै, मुस्लिम समुदायबाट अत्तहर कमाल मुसलमान र  महिलातर्फ सर्वत आरा खान सांसद बन्नेछन् । पिछडिएको क्षेत्रबाट रामबहादुर बिष्ट र रंगमती शाहीलाई पार्टीले सांसदका लागि सिफारिस गरेमा खस आर्यको छैटौं नम्बरमा परेका मोहनप्रसाद पाण्डे र दीपशिखा शर्मा बाहिरिने सम्भावना देखिन्छ । 

पौडेलको असन्तुष्टि 
सरकारले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यका विषयमा आफूसँग परामर्श नगरेको भन्दै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आन्तरिक छलफल र परामर्शसमेत नगरी सरकारले मनोनीति गर्न पाउने राष्ट्रियसभाका तीन सदस्य टुंगो लगाएको गुनासो गरेका हुन् ।
सभापति देउवा आन्तरिक छलफल र सहमति भन्दा एक्लै अघि बढिरहेको आरोप लगाउँदै पौडेलले नागरिकसँग भने, ‘पार्टीमा कुनै पनि छलफल र सहमति भएन । सल्लाहविपरीत अघि बढ्ने काम भयो।’

सभापति देउवा मनोमानी ढंगबाट अघि बढेको आरोप लगाउँदै पौडेलले भने, ‘सभापति आफ्नै मनोमानीमा काम गर्न थाले । यसले पार्टीलाई फाइदा पुर्‍याउँदैन।’

सभापतिको कार्यशैलीले पार्टीलाई अझै ठूलो नोक्सानी र बर्बादीमा पु¥याउने दाबी गर्दै उनले भने, ‘सभापतिले पार्टीलाई खाडलमा पु¥याउने काम गर्दैछन्।’

सरकारले राष्ट्रियसभामा चाँदनी जोशी, गोपाल बस्नेत र पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको नाम सिफारिस गरेको छ । 

प्रकाशित: २८ माघ २०७४ ०१:४१ आइतबार

कांग्रेसका २०  महिला