राजनीति

काँग्रेस भित्र कुनै तरंग ल्याउने पक्षमा छैनः अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ काँग्रेस भित्र आफूले चलखेल गर्न नचाहेको बताएका छन्।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सत्तारुढ नेपाली काँग्रेसले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले काँग्रेस भित्र कुनै राजनीतिक तरंग ल्याउने इच्छा आफूमा नभएको टिप्पणी गरेका हुन्।

अहिलेको राज्य संचालनमा आफ्नो भुमिकासँग सन्तुष्ट गरेको काँग्रेसको तलाउमा एउटा ढुंगा फुत्त फालि दिएर कुनै तरंग ल्याउने इच्छा नभएको ओलीको जिकिर थियो। अध्यक्ष ओलीले काँग्रेस सत्ताको अमनचैनमा रहेकाले त्यसमा खलल पार्न पनि आफूलाई मन नलागेको बताए। काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशलाई आवश्यक नभएको ठूल्ठूला भ्यु टावर बनाएको भन्ने अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले काँग्रेसको नीति एकतले घर मात्रै बनाउने हो? भनि प्रश्न समेत गरे।

उनले भने, ‘अहिलेका राज्य सञ्चालनमा आफ्नो भुमिकासँग सन्तुष्ट रहेको नेपाली काँग्रेसको तलाउमा मैले एउटा ढुंगा फुत्त फालि दिएर कुनै तरंग ल्याउने मेरो इच्छा छैन। त्यसकारण म त्यतापट्टी बिल्कुलै जान चाहन्न। कुनै अमनचैनमा खलल पार्न पनि चाहन्न। त्यस सीमा भित्र मात्रै म बोल्छु। विश्वप्रकाशजीले अलिकति अग्ला घर किन बनाईस? कलकत्ता जान गंगाको बाटो किन भनिस्, ट्रकने कुदाउनेपर्ने ठाउँमा पाईपलाईन अमलेखगंजमा किन ल्याईस? टयांकर चलाउनुपर्ने ठाउँमा त्यो काम किन गरिस? बयलगाडा चलाईराखेका थिए, हुलाकी राजमार्ग किन बनाईस? त्यत्रो साँढे ८ लाख पुनर्निमित घरहरु त्यति छोटो अवधिमा बनाएर पीडितहरुलाई किन हस्तान्तण गरिस? ठूला कुरा गर्ने। उहाँले आफ्नो प्रचलित शैलीमा ललकार्नु भयो। त्यसको पनि म जवाफ दिन्न। म त्यतापट्टी पनि जान चाहन्न। र, म कुनै विवादास्पद कुरा गर्न पनि आवश्यक ठान्दिन । यत्ति हो यो देश कहिलेकहिले खतरा आउँछ कि भनेर झस्किन्थेँ।’

प्रकाशित: १६ पुस २०८० १०:२१ सोमबार

केपी शर्मा ओली नेकपा (एमाले)