राजनीति

माइतीघरको निषेधित क्षेत्र तत्काल खारेज गर: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माइतीघरको निषेधित क्षेत्र तत्काल खारेज गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन्।

सोमवार बिहान सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले बालकुमारी घटनामा भौतिक योजना मन्त्री र गृहमन्त्री दुवै दोषी रहेको ठहर गर्दै माइतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको दाबी गरेका हुन्।

बैठकमा महामन्त्री थापाले भने, ‘माइतीघरको निषेधित क्षेत्र हटाइदिनुस्। यसको पनि कारण छ। हेर्दा सामान्य लाग्छ। आज धोती जुलुस भयो, पोल्टिकल स्टेटमेण्ट हो। उहाँहरूले सरकारले सुन्छ भनेर माइतीघरमा देखाउन खोज्नुभएको हो। हिजो हामीले त्यही गरेको हो। तर अहिले माइतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि बल प्रयोग गर्नुपरेको छ। बल प्रयोग गर्ने घटनाले बढाउँदै लैजाने त हो। हाम्रो डेमोक्रेसीमा हामीले एउटा ठाउँ बनाएको हो। यसको औचित्य छैन, यसको तत्काल खारेज गर्न अनुरोध गर्छु।’

महामन्त्री थापाले बालकुमारी घटनाका परिवारलाई राज्यले उचित क्षतिपूर्तिसहित उनीहरूको जीवन हेर्ने गरी अघि बढ्न सुझाव पनि दिए।  

प्रकाशित: १६ पुस २०८० ०७:११ सोमबार

कांग्रेस महामन्त्री गगन थापा