राजनीति

भौतिकमन्त्रीकाे चरम लापरवाहीले दुर्घटना भयोः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताएका छन्। आन्दोलनबारे थाहा हुँदाहुँदै त्यही बाटोबाट सवारी गर्नु लापरबाही भएको उनले बताए।

सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले समितिले मन्त्रीको लापरवाहीलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने बताएका हुन्।

उनले लापरवाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने समेत बताए। महामन्त्री थापाले श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको बताए। उनले साउनदेखिको इपीएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापरवाही भएको ठहर गरे।

उनले भने, ‘पर्सनल सेक्युरिटिज अफिसरहरुले सूचना लिइसक्दा पनि राज्य नेतृत्वले होइन होइन भनेर ठिक छ भन्यो भने त्यो बेलामा उसले रोक्दैन। त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै यो जबरजस्ती हो। चरम लापरवाही हो, हेपेको हो। सामान्य व्यक्तिले गर्ने लापरवाहीले त कतिथोक व्यहोर्नुपर्छ। त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरवाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो।’

महामन्त्री थापाले मन्त्रीको लापरवाही पनि हर्नुपर्ने बताए। ‘यो समितिले मन्त्रीको लपरवाही हेर्छ की हेर्दैन? लापरवाही हो भने दण्ड हुन्छ। यो त साउनदेखि भएको हो। मंसिरदेखि त निरन्तर आन्दोलन भइरहेको छ। यसमा गृहमन्त्रीज्युले सामान्य जानकारी गराउनुभएको छ। त्यसमा पनि हाम्रा केही आशंका छन्। यो समितिले गृह मन्त्रालयको राजनीतिक नेतृत्व र प्रहरी प्रशासनको सुरक्षाको नेतृत्वले ठिक ढंगले काम गरेको छ की छैन? यसको ल्याप्सेस कहाँ भयो भन्नेकुरासम्म पुग्छ की पुग्दैन? श्रममन्त्रीको विषय पनि यहाँ छ। यो महत्वपूर्ण छ।’, उनले भने।  

प्रकाशित: १६ पुस २०८० ०६:५१ सोमबार

नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापा