राजनीति

एमाले संसदीय दलको नेतामा कँडेल

सुर्खेत – प्रदेश नम्बर ६ को संसदीय दलको नेतामा नेकपा एमालेले यामलाल कँडेललाई चयन गरेको छ। बिहीबार वीरेन्द्रनगरमा बसेको दलको बैठकले पोलिटब्यूरो सदस्यसमेत रहेका कँडेललाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो।

कँडेललाई संसदीय दलको नेताका लागि अर्का पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले प्रस्ताव गरेका थिए। ज्वालाको प्रस्तावमा सबै सांसदहरुले समर्थन जनाए। जेष्ठ सदस्य पदम रोकायको अध्यक्षता एवम् पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आथित्यतामा बसेको बैठकले सर्वसम्मत दलको नेता चयन गरेको ज्वालाले बताए।

‘आज संसदीय दलको नेता चयनका विषयमा मात्रै निर्णय भयो,’ उनले भने, ‘अरु विषयमा हामी प्रवेश गरेनौं।’ प्रदेशसभाका ४० सांसद मध्ये एमालेका २० जना छन्।

ठूलो पार्टीको संसदीय दलको नेता भएपनि कँडेलले मुख्यमन्त्री भने पाउने छैनन्। एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार ६ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादीले पाउने छ। 

प्रदेश ६ मा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता तथा भावी मुख्यमन्त्रीमा महेन्द्र बहादुर शाहीलाई अघि सारेको छ।

प्रकाशित: २५ माघ २०७४ ०९:४४ बिहीबार

एमाले संसदीय दलको नेतामा कँडेल