राजनीति

२०८४ मा ‘रुख’को पत्तासाफ हुने कांग्रेसी 'भय'

कांग्रेस बैठक

नेपाली कांग्रेसका केन्द्रीय सदस्यले मन्त्रीहरूले जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन्। देश, जनता र पार्टीको हितभन्दा मन्त्रीहरू आफू र गुटको पक्षपोषणमा लागिपरेको आरोप केन्द्रीय सदस्यले लगाएका हुन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारदेखि सुरु केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकतर सदस्यले मन्त्रीहरूको कार्यशैलीप्रति आक्रोश पोखेका छन्। कार्यशैली तत्काल नबदलिए जनतामाझ गएर सरकार र मन्त्रीको पक्षमा बोल्न नसकिने केन्द्रीय सदस्यहरूले बताएका छन्।

प्रतिकूल अवस्थामा पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भए पनि त्यसको अनुभूति जनताले गर्न नसकेको दाबी केन्द्रीय सदस्यहरूको छ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले उपलब्धिमूलक काम गर्न नसकेको र सरकारमा सहभागी कांग्रेसका नेताहरूले पनि उल्लेख्य परिणाम दिन नसकेकाले कांग्रेस समुदायमा जाँदा भन्ने कुरा केही नभएको बताए।

‘यस्तै तरिकाले अघि बढ्ने हो भने भने २०८४ को निर्वाचनमा कांग्रेस पत्तासाफसमेत हुन सक्छ,’ उनले भने, ‘कांग्रेसले देशलाई कता लैजाने भन्ने ठोस योजना र रणनीति नबनाएसम्म, अहिलेकै अवस्थामा कम्तीमा म कांग्रेस नेतृत्वको डिफेन्स गर्न सक्दिनँ।’

अर्का केन्द्रीय सदस्य रामहरि खतिवडाले मन्त्री भएका नेताहरू मात्र गोरा भएको व्यंग्य गरेका थिए। उनले भने, ‘अब मन्त्रीहरू मात्र गोरा र राम्रो हुने जनताचाहिँ कालो हुने अवस्थाको अन्त्य हुनैपर्छ। अहिले जनता कालो बन्ने, मन्त्री गोरो हुने मात्र भयो।’

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकार र पार्टीमा बेथिति र विधिहीनताको अन्त्य गर्न तत्काले नेतृत्वले पहल गर्नुपर्ने धारणा राखे। ‘हरेक दिन तीन हजार युवा रोजगारीका लागि बिदेसिन बाध्य छन्।

विदेशबाट हरेक दिन २–४ जनाको शव आइरहेको छ,’ केसीले भने, ‘रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाऊँभन्दा शुक्रबार बालकुमारीमा दुई युवकले ज्यान गुमाए। यसले केही त संकेत गर्दैछ। हामीले बेलैमा बुझ्न सकेनौं भने ठुलो क्षति हुन सक्छ।’

बालकुमारी गोलीकाण्डले जनताको असन्तोष, निराशा क्रमशः विद्रोह उन्मुख हुन थालेको संकेत गरेको केन्द्रीय सदस्यहरूको भनाइ थियो।

जनताले सरकार, राजनीतिक दल वा नेता कसैलाई पनि ढुक्कसँग विश्वास गर्न नसकेको भन्दै केन्द्रीय सदस्यहरूले बेलैमा बेथिति, भ्रष्टाचार र विधिहीनता अन्त्य गर्न जोड दिएका थिए।

बैठकमा अधिकतर केन्द्रीय सदस्यले अघिल्लो निर्वाचनमा कुनै पनि तहमा पराजित नेतालाई राष्ट्रियसभा सदस्य चुनावमा उम्मेदवार बनाउन नहुने तर्क राखेका छन्।

अहिलेसम्म पार्टीमा लागेर अवसर नपाएका नेता र बुद्धिजीवीलाई उम्मेदवार बनाउनुपर्ने तर्क उनीहरूको छ। उम्मेदवार छनोट मापदण्ड बनाउनुपर्ने धारणा राख्दै केन्द्रीय सदस्यहरूले अहिलेको निर्वाचन प्रणालीमाथि पनि प्रश्न उठाए। प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित र राष्ट्रियसभामा समानुपातिक प्रतिनिधित्व हुनेगरी निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने उनीहरूको सुभाव छ।

बैठकमा केन्द्रीय सदस्यले संसद्मा पार्टीको भूमिका प्रभावकारी हुन नसकेको गुनासो पनि गरेका थिए। संसद्मा पार्टीको उपस्थिति कमजोर भएको धारणा राख्दै केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले देशभित्र र बाहिर पनि पार्टीले अभियान सञ्चालन गर्नुपर्ने बताए।

पार्टीका अभियान प्रभावकारी बनाउन र भ्रातृ संगठनहरूलाई चुस्त बनाउन पनि उनीहरूले आग्रह गरेका छन्। केन्द्रीय सदस्य गोविन्द पोखरेलले पार्टी महामन्त्रीहरूलाई अभियानका कार्यक्रम नभएर निर्वाचन घोषणापत्र कार्यान्वयनमा लाग्न जोड दिए। केन्द्रीय सदस्यहरूले पार्टीमा नेताहरूको वरीयता विवाद तत्काल सुल्झाउन माग गरे।

बैठकमा महामन्त्री गगनकुमार थापाले पार्टी सरकारमा सहभागी भएको आठ महिना भइसकेकाले मन्त्रीहरूले गरेको आठ सकारात्मक कामको सूची माग गरेका थिए।

दाहाल नेतृत्वको सरकारमा एक वर्षसम्म रहँदा गर्ने कामको लक्ष्य निर्धारण गर्न पनि उनले मन्त्रीहरूलाई आग्रह गर्दै भने, ‘त्यो लक्ष्य पूरा गर्न भनेजस्तो काम नगरे मन्त्री फेरौं। अरू सबै दलसँग समय पनि छ, सुविधा पनि छ, अहिले भएन हामी आउँछौं र ठीक बनाउँछौं भन्ने तर हामीले त्यो भन्न पाउँदैनौं।’

गुणस्तरीय र सर्वसुलभ शिक्षा, स्वास्थ्य र मर्यादित रोजगारीलाई कांग्रेसले मिसन बनाउनुपर्ने बताउँदै थापाले भने, ‘अनि यी ४ वर्षमा यी कुरा पूरा गरौं, यसको आधारमा बल्ल जनतासामु जान पाइन्छ।’

बैठकमा सहमहामन्त्री बद्री पाण्डेले स्थानीय सरकार र पार्टीबीच समन्वयको अभाव रहेको औल्याउँदै कार्यविधि बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्। त्यसले मात्र पार्टी संगठन र स्थानीय सरकारको काम प्रभावकारी हुनसक्ने तर्क गर्दै पाण्डेले संघीयताको मर्मअनुसार प्रदेशका अधिकार सुनिश्चित गर्न कांग्रेसले नै कानुन निर्माणसहित विषयमा अग्रसरता लिनुपर्ने धारणा राखे।

पाण्डेले पार्टीभित्रको विवाद वडा तहसम्म पुगेको भन्दै अभियानका क्रममा जिल्ला जाने केन्द्रीय प्रतिनिधिले त्यसलाई समाधान गर्नुपर्ने धारणा राखेका छन्।

बिहीबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकले सरकारका मन्त्रीहरूको कामलाई अझ गतिशील बनाउनुपर्ने निर्णय गरेको छ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीमा लागेर अवसर नपाएका र योग्यलाई उम्मेदवार बनाउनुपर्ने सैद्धान्तिक निर्णय कांग्रेसले गरेको छ।

कार्यकाल सकिएका तर महाधिवेशन नभएका पार्टीका भ्रातृ संगठनको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको कांग्रेसले शुक्रबार बालकुमारीमा भएको घटनाको निष्पक्ष छानविन गर्न र पर्याप्त राहत प्रदान गर्न सरकारसँग माग गरेको छ। फागुन ७ गतेका लागि तय गरिएको महासमिति बैठकलाई प्रभावकारी बनाउने निर्णय कांग्रेसले गरेको छ।

सरकारको कामको समीक्षा गर्नुका साथै पार्टीबाट सहभागी मन्त्रीहरूको कामलाई केन्द्रित गरेर बैठक राखिएको थियो। तर, बैठकमा कानुन मन्त्री धनराज गुरुङ र उद्यगोगमन्त्री रमेश रिजाल उपस्थित नै भएनन्।

उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र सहरी विकास मन्त्री सीता गुरुङले पार्टी बैठकमा पूर्ण समय दिए पनि अन्य मन्त्री आफ्ना कुरा राख्दै हिँडेका थिए। त्यसप्रति केन्द्रीय सदस्यहरूले तीव्र असन्तुष्टि जनाएका थिए।

प्रकाशित: १५ पुस २०८० ०२:५९ आइतबार

२०८४ मा पत्तासाफ हुने भय बालकुमारी गोलीकाण्ड