राजनीति

पाखा लागे भण्डारी, मुख्यमन्त्रीमा शाही पक्का

काठमाडौं- प्रदेश नम्बर छ को मुख्यमन्त्री विवाद करिब समाधान भएको छ। एमाले र माओवादी सहमति अनुसार ६ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादीले पाएको थियो। ६ नम्बर प्रदेशमा माओवादीका दुई नेता कालिकोटका महेन्द्रबहादुर शाही र जुम्लाका नरेश भण्डारीले मुख्यमन्त्री दावी गरेका थिए। शाहीको नाममा सहमति भएको माओवादी स्रोतले बताएको छ।

माओवादी हेडक्वाटरले मुख्यमन्त्रीको टुंगो प्रदेश कमिटीलाई लगाउने जिम्मा दिएपछि सुर्खेतमा दुई नेताबीच सहमति गराउन माओवादीका प्रभावशाली नेताहरुले प्रयास गरेका थिए।

मंगलबार जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र प्रदेश संयोजक मायाँ प्रसाद शर्मा सहितको बैठकले शाहीको नाममा सहमति गरेको हो। सुरुमा प्रतिनिधि सभाको टिकट पाएका शाही पछि प्रदेश सभाको उम्मेदवार बनेका थिए। माओवादी सेनाका पूर्व डिभिजन कमाण्डर रहेका उनले उर्जामन्त्रालयको जिम्मेवारी समेत सम्हालेका थिए।

मंगलबार सुर्खेतको सुमेरु होटलमा शर्मा, बस्नेत र मायाँ प्रसाद शर्माले आकांक्षी द्वय सहित छलफल गरेका थिए। छलफलले माओवादीको वुद्धिजिवि संगठनको नेतृत्व सम्हालेका भण्डारीलाई पाखा लगाउँदै शाहीको नाम मुख्यमन्त्रीमा सिफारिस गरेको हो। बिहीबार मात्र शाहीको नाम औपचारिकरुपमा घोषणा गर्ने माओवादी स्रोतले जनाएको छ।

प्रकाशित: २४ माघ २०७४ १२:४१ बुधबार

पाखा लागे भण्डारी मुख्यमन्त्रीमा शाही पक्का