विराटनगर – प्रदेश नम्बर १ को बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। अपाङ्ग तथा अल्पसंख्यक र दलित कोटाका लागि भएको निर्वाचनमा दुवै पदमा बाम गठबन्धनको समर्थन प्राप्त नेकपा एमालेका उमेदवार निर्वाचित भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार दलित कोटाका उम्मेदवार खेम नेपाली र अपाङ्ग तथा अल्पसंख्यक तर्फ अगमप्रसाद वान्तावा निर्वाचित भएका छन्। नेपालीले ६ हजार २ सय ७० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली का“ग्रेसका उम्मेदवार विन विश्वकर्माले २ हजार ८ सय ३२ मतभार प्राप्त गरे। दलित कोटातर्फ १० मत बदर भएको थियो।
यस्तै अल्पसंख्यक र अपाङ्ग कोटातर्फ एमालेका बान्तावाले ६ हजार १ सय ३८ मतभार प्राप्त गरेका छन्। अल्पसंख्यक तथा अपाङ्ग कोटातर्फ १२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकृत नवराज दुलालले जानकारी दिए।
प्रदेश १ मा ९३ प्रदेश सभा सदस्य मतदाता रहेकोमा ९२ मत र १ सय ३७ स्थानीय तहका २ सय ७४ जना मतदाता रहेकोमा २ सय ७२ मत खसेको क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद संजेलले जानकारी दिए।
राष्ट्रियसभाका ८ मध्ये प्रदेश १ बाट ६ जना यसअघिनै निर्विरोध निर्वाचित भइसकेका छन्। निर्वाचित हुने मा अन्यतर्फ एमालेबाट २ र का“ग्रेसबाट १ जना छन्। अन्यतर्फ एमालेबाट संखुवासभाका पर्शुमेही गुुरुङ र झापाका हरिशरण शिवाकोटी निर्वाचित भएका छन्। नेपाली का“ग्रेसबाट मोरङका रमेशजङ्ग रायमाझी निर्वाचित भएका छन् ।
तीन जनाको महिला आरक्षण कोटामा एमाले, माओवादी केन्द्र र का“ग्रेसबाट एक÷एक जना उमेदवार निर्वाचित भएका छन्। जसमा एमालेतर्फ मोरङकी नैनकला ओझा, माओवादी केन्द्रबाट मोरङकै विना पोखरेल र नेपाली का“ग्रेसबाट झापाकी सरिता प्रसाई रहेका छन्।
निर्वाचत भएका राष्ट्रियसभा सदस्यहरूलाई बिहीबार विहान १० बजे जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा प्रमाणपत्र बितरण गरिने क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।
प्रकाशित: २४ माघ २०७४ १२:०४ बुधबार