राजनीति

इपिएस शाखाको कमजोरीले बालकुमारी घटना भयो: प्रधानमन्त्री

‘दोषीलाई कारबाही हुन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहालले इपिएस  कोरिया शाखाको कमजोरीले हिजो बालकुमारीमा दुःखद घटना घटेको बताएका छन्।

आज राष्ट्रिय सभागृहमा ट्रेड युनियन आन्दोलन र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘अदालतमा निवेदन दिएका १८ जनालाई आवेदन दिन दिनु भनिसकेपछि इपिएस शाखाले १८ जनालाई मात्र हो भन्ने अर्थ लगाउने ठाउँ देखिँदैन,’ प्रधानमन्त्री दाहालले भने, ‘त्यहीँ प्रकृतिका सबैलाई पहिले नै आवेदन दिने निर्णय भएको भए यो दुर्भाग्यपूर्ण घटना हुने नै थिएन।’

सरकारले उक्त घटनालाई गम्भीर रुपमा लिएको र दोषीलाई कारबाही गर्ने प्रधानमन्त्री दाहालले प्रतिबद्धता व्यक्त गरे। ‘आकस्मिक रुपमा हिजो घटना आयो। आउने बित्तिकै काठमाडौं आएर छानबिन समिति बनाएर छानबिन सुरु भइसकेको छ,’ उनले भने, ‘आज बिहान गृह मन्त्रालय एवं सम्बन्धित सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारीसँग घटनाबारे जानकारी लिएको छु।’ त्यसपछि तुरुन्तै राजनीति दलसँग छलफल गरिएको उनले बताए।

छलफलपछि दोषी देखिएकालाई कारबाहीको निर्णय गर्ने तयारी गरिएको प्रधानमन्त्री दाहालले बताए। उनले भने,‘आइपिएस अफिसबाट केही कमजोरी महसुस भएको छ। कमजोरी गर्ने अधिकारीलाई त्यहाँबाट हटाइएको छ। 

मन्त्रीजीको पिएसओले परिस्थितिको आङ्कलन नगरी त्यहीँबाट गाडी लगे। उनलाई पनि निलम्बन गरिनेछ।’ त्यसैगरी गोली हान्ने आदेश दिने दिने अधिकारीलाई छानबिन अवधिसम्म निलम्बन गर्ने निर्णय भएको प्रधानमन्त्री दाहालले बताए।

दिउँसो २ बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठकबाट यी निर्णयहरूले आधिकारिता दिने प्रधानमन्त्रीको तयारी छ। कार्यक्रममा प्रधानमन्त्री दाहालले  मृतक परिवारलाई उचित राहत दिने प्रस्तावबारे पनि मन्त्रिपरिषद्मा छलफल हुने बताए।

प्रकाशित: १४ पुस २०८० ०७:३९ शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल