राजनीति

सामाजिक एकता भाँडिने चिन्ता

जनकपुरधाम – प्रदेश सरकार गठनको गृहकार्यमा व्यस्त प्रमुख दलहरू संघीय फोरम र राजपा विरुद्ध मंगलबार प्रादेशिक राजधानी जनकपुरमा प्रदर्शन भएको छ । प्रदेशसभाको प्रथम बैठकमा मैथिली भाषालाई उपेक्षा गरेको भन्दै स्थानीय युवाले दुवै पार्टीका शीर्षस्थ नेताहरूको पुतला दहन गरे।

मधेशी समुदायको बाहुल्यता रहेको यस प्रदेशमा नेपाली भाषाको विकल्पमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा कायम गर्ने पक्षमा मधेस केन्द्रित दल देखिन्छन् । सप्तरीदेखि सर्लाहीको मध्यपूर्वी भागसम्मका भाषा अभियन्ताले भने प्रदेशको नाम मिथिला र सरकारी कामकाजको भाषा मैथिली हुनुपर्ने दाबी गर्दै आएका छन् । यसका लागि एक वर्गले निरन्तर आन्दोलन पनि गर्दै आएको छ। 

‘मैथिली भाषामा बोल्न नसके आफ्नो मातृभाषा भोजपुरी, बज्जिका बोले हुन्थ्यो । हिन्दी भाषा बोलेर मैथिलीलाई अपमान गरेकोले हामीले विरोध गरेका हौं।’ 

‘मैथिली भाषामा बोल्न नसके आफ्नो मातृभाषा भोजपुरी, बज्जिका बोले हुन्थ्यो,’ प्रदेशसभामा हिन्दी भाषामा सम्बोधन गर्ने नेताहरूको पुतला दहन कार्यक्रमको अगुवाइ गरेका स्थानीय सुशील कर्णले भने, ‘हिन्दी भाषा बोलेर मैथिलीलाई अपमान गरेकोले हामीले विरोध गरेका हौं।’ 

गत आइतबार जनकपुरमा बसेको पहिलो प्रदेशसभा बैठकमा जम्मा ८ जना वक्ता बोलेकोमा चारजनाले मैथिली र चारले हिन्दीमा सम्बोधन गरे । कांग्रेस, एमाले र माओवादीका प्रदेश सांसदले मैथिली बोले । पहिचानवादी आन्दोलनको बलमा स्थापित दलका प्रतिनिधिले भने हिन्दी भाषामा सभामा सम्बोधन गरे । फोरम संसदीय दलका नेता लालबाबु राउतले नेपालीमा सम्बोधन सुरु गरे पनि चारपाँच शब्द नपोख्दै हिन्दीमा रूपान्तरण भए । सभामुखले नेपाली भाषामा बैठक सञ्चालन गरे तर, कुनै पनि वक्ताले नेपाली बोलेनन्।

राजपाकी प्रदेश सांसद डिम्पल झाले मैथिली प्रदेश २ को सरकारी कामकाजको भाषा कुनै हालतमा कायम हुन नसक्ने ठोकुवा गरिन् । ‘दुई जिल्लामा बोल्ने भाषा आठै जिल्लामा लाद्न मिल्छ ?’ नागरिकसँग प्रतिप्रश्न गरिन्, ‘हामी रौतहटमा बज्जिका बोल्छौं । पश्चिममा भोजपुरी भाषीको बाहुल्यता छ। पुर्वमा थारू केही नेपाली भाषी पनि छन् । अनि मैथिली भाषालाई मात्रै सरकारी कामकाजको भाषा कसरी बनाउन सकिन्छ?’

फोरमका प्रदेश सांसद योगेन्द्र राय यादवले मधेशका सबै भागमा सहजै बोल्न र बुझ्न सकिने भाषा हिन्दी मात्रै रहेको दाबी गरे । ‘जनकपुर त कम्तीमा राजधानी बन्दैछ । हामी रौतहट, बारा र पर्सावासीका लागि प्रदेशले के दिँदैछ ?’ उनले प्रश्न गरे। 

राजपा सांसद परमेश्वर साहले भाषा र भेषभुसाको पहिचानकै लागि आफुहरु संघर्षमा रहेको बताउँदै कुनै पनि भाषाको विरोध गर्नु गलत भएको बताए । जनकपुरमा हिन्दी भाषामा बोलेको विरोधमा विरोध भएको सन्दर्भलाई जोड्दै उनले भने, ‘लोकतन्त्रमा सबैको पहिचानको सम्मान हुनुपर्छ । प्रदेश २ मा बोलिने सबै भाषालाई सरकारी कामकाजमा मान्यता दिनुपर्ने मेरो धारणा हो तर पार्टीको औपचारिक निर्णय भइसकेको छैन।’ 

माघ ७ गते जनकपुरमा प्रदेशसभा सदस्यहरुले चार भाषामा सपथ ग्रहण गरेका थिए। १ सय ७ प्रदेश सांसदमध्ये मैथिलीमा ४७, भोजपुरीमा २५, नेपालीमा २४ र हिन्दीमा ११ जनाले सपथ ग्रहण गरेका थिए । प्रदेशसभाको अधिवेशन सुरुवातमै हिन्दी भाषाको प्रवद्र्धन हुन थालेपछि विरोध गर्नुपरेको स्थानीय युवा बिटु पजियारले बताए। 

प्रकाशित: २४ माघ २०७४ ०२:३८ बुधबार

सामाजिक एकता भाँडिने चिन्ता