राजनीति

कोइराला परिवारमै सधैं बेमेल

सन्दर्भ: राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

‘यस राष्ट्रिय संकटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ। हाम्रो कार्यक्रम राष्ट्र रहेन भने हामी रहन्नौं भन्ने भावनाले प्रेरित हुनुपर्छ। देशको उन्नति, जनताको सुख र समृद्धिको पुनीत कार्यमा हामी सबै एकमत भएर लागौं।’ भारतमा निर्वासित नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीतिसहित स्वदेश फर्कनुअघि गरेको अपिलको अंश हो यो।  

मृत्युदण्डसहितका विभिन्न आठवटा मुद्दाको कुनै प्रवाह नगरी बिपी गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईंलगायतका नेतालाई लिएर स्वदेश फर्किएका थिए। राजासहित देशभित्रका सबै शक्तिबीच एकता र मेलमिलापको आवश्यकता औंल्याउँदै ४७ वर्षअघि बिपी स्वदेश फर्केको स्मरणमा कांग्रेसले यस वर्ष पनि विभिन्न कार्यक्रम गर्दैछ। बिपीले मुलुकको तत्कालीन राजनीतिक कारणले भारतमा आठ वर्ष निर्वासित जीवन बिताएका थिए।

संविधानसभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधानको रक्षा तथा मुलुकको आर्थिक विकास र समुन्नतिका लागि देशभित्रका सबै शक्तिबीचको एकता र मेलमिलाप अहिले पनि उत्तिकै सान्दर्भिक र आवश्यक छ। तर यतिबेला देशभित्रका सबै शक्तिबीचको एकताभन्दा पनि उनै बिपीसहितका नेताहरूले ७८ वर्षअघि २००३ सालमा स्थापना गरेको कांग्रेसभित्र बृहत् एकता र मेलमिलाप आवश्यक भएको औंल्याउन थालिएको छ। मुलुकको पुरानो दल नेपाली कांग्रेसभित्रकोअस्वस्थ प्रतिस्पर्धाले पार्टी संगठन नै गतिहीन बन्न पुगेको छ। अझ कोइराला परिवारभित्रको बेमेलको असर कांग्रेसभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत परेको निकटहरूको दाबी छ। कोइराला परिवारप्रति शुभेच्छा राख्नेहरू भन्छन्, ‘यतिबेला राष्ट्रिय मेलमिलापभन्दा पनि कोइराला परिवार र कांग्रेसभित्र एकता आवश्यक छ।’

परिवार र पार्टीभित्र एकता कायम गर्न नसक्नेले अर्काको घर, परिवार, समाज र राष्ट्रिय एकताको कुरा गर्नु सुहाउने विषय नभएको तर्क गर्दै एक नेताले भने, ‘१४औं महाधिवेशनमा कोइराला परिवारबीच एकता भएको भए कांग्रेसको राजनीति अर्कै हुन्थ्यो। मुलुकले पनि फरक बाटो लिने अवस्था आउन सक्थ्यो।’

कृष्णप्रसाद कोइरालाका नाती पुस्ता अहिले कांग्रेस राजनीतिमा सक्रिय छन्। व्यापारिक पृष्ठभूमिका कृष्णप्रसादको राणा शासनविरोधी आन्दोलनमा महत्वपूर्ण योगदान रहेको थियो। कृष्णप्रसादबाटै प्रेरणा पाएर छोराहरू मातृकाप्रसाद, विश्वेश्वरप्रसाद (बिपी), केशवप्रसाद, तारिणीप्रसाद र गिरिजाप्रसाद कोइराला राजनीतिमा होमिएका थिए। केशवप्रसाद र तारिणीबाहेक तीनैजना मुलुकको प्रधानमन्त्री बने। बिपीका कान्छा पुत्र शशांक, राजनीतिभन्दा पारिवारिक व्यवस्थापनमा बढी सक्रिय रहेका केशवप्रसादका कान्छा छोरा शेखर र गिरिजाप्रसादकी छोरी सुजाता कांग्रेस राजनीतिमा अहिले सक्रिय छन्। उनीहरूबीचको शक्ति संघर्ष भने स्वाभाविक र सुमधुर छैन।  

कोइराला परिवारबाट पार्टी राजनीतिमा कसले स्थान बनाउने र कसलाई अघि बढाउने भन्ने होड र विवादले पारिवारिक बेमेल र तिक्तता निम्ताएको छ। कांग्रेसका नेता तथा कार्यकर्ता शंशाक, शेखर र सुजातालाई एकै ठाउँमा उभ्याएर पार्टी नेतृत्व कोइराला परिवारमा फिर्ता ल्याउन चाहन्छन्। 

तर, उनीहरूबीचको टकराव र औपचारिक मात्र सम्बन्धले कार्यकर्ताको कसरत असफल हुँदै आएको छ। ‘भाइ फुटे गवार लुटे’ भनेजस्तै कांग्रेसको १४औं महाधिवेशनमा कोइराला परिवारका तीन नेता तीनतिर फर्कंदा नेतृत्वमा पुग्ने अवसर मात्र होइन, पार्टी र मुलुककै राजनीतिमा कोइराला परिवारको शक्तिसमेत क्षयीकरण हुन पुग्यो।  

तेह्रौं महाधिवेशनबाट महामन्त्री भएका शशांक १४औंमा शेखर र सुजाताको समर्थनमा सभापतिको प्रत्यासी बन्न चाहन्थे। तर शेखरले पनि नेतृत्वमा पुग्ने आकांक्षा देखाए। नेता रामचन्द्र पौडेल पनि सभापतिको आकांक्षी देखिएसँगै उनको पक्षमा शशांक उभिए। प्रकाशमान सिंह भने पौडेललाई सभापतिको उम्मेदवार स्विकार गर्न तयार भएनन्। त्यसपछि शेरबहादुर देउवा इतर पक्षबाट सिंहसँगै शेखर पनि सभापतिको प्रत्यासी बने। केन्द्रीय सदस्यको उम्मेदवार बनेका शशांक दाजु शेखरको पक्षमा खुलेनन्। उपप्रधानमन्त्रीसम्म भएकी सुजाता पनि शेखरको विपक्षमा देखिइन्। शेखरको पक्षमा उभिनुको साटो सुजाता सिंहको समूहबाट उपसभापतिको प्रत्यासी बनिन्।  

सभापतिमा शेखर र उपसभापति सुजाता दुवै पराजित भए। नेतृत्व प्रतिस्पर्धामा दोस्रो भएका शेखरले भाइ र बहिनीलाई मिलाउन नसकेको स्विकारे। १५औं महाधिवेशनमा पनि शेखर सभापतिको प्रत्यासी बन्ने तयारीमा छन्। संस्थापन इतर समूहलाई मिलाएर शेखर पार्टी नेतृत्वमा पुग्ने रणनीतिसहित सक्रिय छन्। उनलाई रोक्न इतर पक्षकै नेता लागिपरेका छन्। अहिले पनि उनको भाइ शंशाक र बहिनी सुजातासँगको सम्बन्ध औपचारिकताबाट माथि उठ्न नसकेको निकट बताउँछन्।  

पार्टीको १४औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्न चुकेका शशांक १५औं महाधिवेशनबाट नेतृत्वमा पुग्न चाहन्छन्। १४ औं महाधिवेशनमा शेखर सभापतिको प्रत्यासी बन्दा शशांक मौन बसेपछि त्यसको फाइदा शेरबहादुर देउवालाई भएको थियो। १५औं महाधिवेशनमा देउवा सभापतिको उम्मेदवार बन्न पाउने छैनन्। १४औं महाधिवेशनमा शशांकले लगाएको गुनलाई देउवाले आगामी महाधिवेशन नबिर्सने निकटहरूको बुझाइ छ।  

पार्टीमा कोइराला परिवारको बिरासत मात्र होइन, संस्थापन इतर र देउवा समूहलाई समेत विश्वासमा लिएर शशांक नेतृत्वमा पुग्न चाहन्छन्। प्रकाशशरण महत, आरजु राणासहितका नेताहरू अहिले शशांकसँग नजिक देखिएका छन्। शेखर र शशांक पक्षमा विभाजित नेपाली विद्यार्थी संघका विद्यार्थीले बिहीबार काठमाडौंमा अलगअलग स्थानमा भेला गरे। शशांक पक्षले आयोजना गरेको भेलामा देउवा निकट विद्यार्थी पनि देखिएका थिए। संस्थापन पक्षबाट पूर्णबहादुर खड्का देउवाको उत्तराधिकारी बन्ने रणनीतिमा छन्।

देउवा पक्षसहित सम्पूर्ण नेताहरूको समर्थन जुटाउन शशांकलाई जति कठिन छ त्यति नै समस्या शेखरलाई पनि इतर पक्ष मिलाउन छ। महामन्त्री गगनकुमार थापा पनि आगामी महाधिवेशनमा सभापतिको प्रतिस्पर्धा गर्ने तयारीमा छन्। सुजाता स्वास्थ्यसहितका कारणले पार्टी नेतृत्वमा पुग्ने सम्भावना छैन। तर उनको भूमिकाले कांग्रेसको आगामी नेतृत्व चयनमा केही फरक पर्नेछ।  

अहिले राजनीतिमा सक्रिय कोइराला परिवारका तीन सदस्य तीनतिर फर्कंदाको लाभ देउवाले उठाइरहेका छन्। कोइराला परिवारका सदस्यबीच एकता नहुँदा देउवालाई हाइसन्चो भएको छ। झन्डै ८० प्रतिशत केन्द्रीय सदस्यको साथ र समर्थनसहित देउवा केन्द्रीय समितिमा उपस्थित हुँदा कोइराला परिवारका तीन सदस्य भने तीनतिर छन्। 

जसरी कोइराला परिवारबीचको बेमेलको लाभ देउवालाई पुगेको छ त्यसैगरी कांग्रेसभित्रको गुटगत कलहको फाइदा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उठाएका छन्।

नेकपा माओवादी केन्द्रको प्रतिनिधिसभामा ३२ सिट छ। दाहालले प्रतिनिधिसभाको ठुलो दल कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गरेका छन्। दाहाल नेतृत्वको सरकारले एक वर्षको अवधिमा जनतामा आशा र भरोसा सञ्चार गर्न सकेको छैन। तर दाहाल कांग्रेसभित्रको गुटगत विवादमा खेल्दै सरकारको नेतृत्वमा छन्। पार्टीभित्रै आशंका र अविश्वासले दाहाल नेतृत्वको सरकारको कार्यशैलीप्रति चित्त नबुझे पनि कांग्रेस नेताहरू अहिले टोक्नु (छाड्नु) न बोक्नुको अवस्थामा छन्। दाहाललाई दिएको समर्थन फिर्ता लिँदा एक वर्षअघिजस्तै उनी एमालेसहितका दलसँग मिल्न गए केन्द्रदेखि प्रदेशसम्म सत्ताच्युत भइने भय कांग्रेसमा छ। एकले अर्कालाई रोक्न मात्र कांग्रेस नेताहरू सक्रिय रहँदा त्यसको लाभ अन्य दलका नेताले निर्वाचनदेखि सत्ता समीकरणमा लिँदै आएका छन्।

कांग्रेस र कोइराला परिवारभित्रको अहिलेको विवाद पहिलो र अन्तिम होइन। २००९ सालमै एकाघरका दाजुभाइ बिपी कांग्रेस सभापति र मातृकाप्रसाद प्रधानमन्त्री भएदेखि विवाद सुरु भएको हो। दाजुभाइबीचको शक्ति संघर्षको होडले बिपीले मातृकालाई सरकारबाट फिर्ता मात्र बोलाएनन्, पार्टी निर्णय नमानेको भन्दै साधारण सदस्यसमेत नरहनेगरी कांग्रेसबाट हटाइदिए। बिपी र मातृकाको विवादलाई नजिकबाट नियालेको ‘इन्डियन नेसन’ले २२ जुलाई १९५२ मा लेखेको थियो, ‘नेपाली कांग्रेसका प्रमुख नेताहरूलाई यो थाहै होला कि उनीहरूको कुनै ठूलो मतभेद नेपाली कांग्रेसका निम्ति मात्र हानिकारक छैन, अपितु संस्था र देशमा अहिले चलेको प्रजातान्त्रिक प्रणालीको प्रयोगका निमित्त हानिकारक सिद्ध हुन्छ।’ गृष्मबहादुर देवकोटाद्वारा लेखिएको नेपालको राजनीतिक दर्पण पुस्तकमा यो कुरा उल्लेख छ।

बिपी र मातृकाबीचको शक्ति संघर्षले स्थापनाको छोटो समयमै कांग्रेस विभाजन हुन पुग्यो, राणाशासन अन्त्यसँगै स्थापना भएको प्रजातन्त्र पनि धर्मराउन पुग्यो। राजा त्रिभुवनले संविधानसभा निर्वाचन टार्दै गए, प्रधानमन्त्री भइसकेका मातृका राजदूत बने। अनेकौं दबाबपछि मात्र २०१५ सालमा अर्का राजा महेन्द्रले आमनिर्वाचन गराए। बिपीको नेतृत्वमा कांग्रेसको एकमना सरकार गठन भयो। 

तर कांग्रेसभित्रैको विवादमा खेलेर २०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरी प्रत्यक्ष शासन सुरु गरे। बिपीसहितका नेताहरूलाई राजाले आठ वर्ष जेलमा राखे। मातृका र बिपी कृष्णप्रसाद कोइरालाका दुई पत्नी मोहनकुमारी र दिव्याका सन्तान हुन्। दिव्यातर्फ बिपी, केशवप्रसाद, तारिणी र गिरिजाप्रसाद हुन्।

२०४६ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसका तीन नेता कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाबीचको विवादले २०५१ मा मध्यावधि निर्वाचन भयो। कांग्रेस दोस्रो दल बन्यो। निर्वाचन जितेका गिरिजाप्रसादले संसदीय दलको नेता नबन्ने घोषणा गरे भने भट्टराई चुनावमा पराजित भएका थिए। यसकारण कांग्रेस संसदीय दलको नेता पार्टीका दोस्रो तहका नेता आरएसएस (रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्य) मा जाने निश्चित थियो। तर नाताले भान्जी भए पनि गिरिजाप्रसादले शैलजालाई दलको नेता बनाउन चाहेनन्। त्यसको लाभ देउवाले उठाए। पार्टी संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने ढोका देउवालाई खुल्यो। पौडेल सभामुख बने।

कोइराला परिवारभित्र कसलाई अघि बढाउने भन्नेमा गिरिजाप्रसाद र नोना कोइराला (केशवप्रसादकी पत्नी) कसरत सुरु भइसकेको थियो। दुवैले आआफ्ना सन्तानलाई पार्टीमा स्थापित गराउने चाहन्थे। शैलजालाई अघि सार्दा आफूहरूको चाहनामा बाधक हुनसक्ने उनीहरूको विश्लेषण थियो। शैलजा इन्दिराकी छोरी हुन्। इन्दिरा र मातृका एउटै कोखका हुन्।

२०५७ सालमा भएको होलेरी काण्ड (तत्कालीन माओवादीविरुद्ध शाही सेना परिचालन नभएपछि) पछि गिरिजाप्रसादले प्रधानमन्त्रीबाट राजीनामा गर्ने जनाइसकेका थिए। त्यहीबेला उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा रहेका रामचन्द्र पौडेलले गिरिजाप्रसादको आलोचना गर्दै पदबाट राजीनामा गरे। त्यसको केही समयपछि गिरिजाप्रसादले पनि प्रधानमन्त्रीबाट राजीनामा गरे। आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि गिरिजाप्रसादले सरकारको नेतृत्वमा चक्रप्रसाद बास्तोलालाई ल्याउन चाहेका थिए। बास्तोलालाई प्रधानमन्त्री बनाउँदा कांग्रेस राजनीति कोइराला परिवारबाट बाहिर जाने भन्दै कृष्णप्रसाद सिटौलाले सुशील कोइरालालाई दलको नेतामा अघि सार्न सुझाए।  

पार्टी र सत्ता राजनीति आफ्नो वरिपरि राख्न चाहने गिरिजाप्रसादले सिटौलाको सुझावलाई उचित ठाने। बास्तोला रोकिए। सुशील र देउवाबीच संसदीय दलको नेतामा प्रतिस्पर्धा भयो। सुशील पराजित भए, देउवा प्रधानमन्त्री बने। २०५६ सालको निर्वाचनमा कांग्रेसले एकल बहुमत पाएको थियो।

झापाका बास्तोलालाई प्रधानमन्त्री हुनबाट रोक्न सफल भएका सोही जिल्लाका सिटौलाले गिरिजाप्रसादपछि पार्टी नेतृत्व सुशीलमा ल्याउन सकिने बताएका थिए। त्यसपछि सुजाता, शेखरलाई कांग्रेसमा स्थापित गराउन सकिने भन्दै उनले गिरिजाप्रसादलाई आश्वस्त बनाएका थिए। १२औं महाधिवेशनबाट सुशील पार्टी सभापतिमा निर्वाचित भए। १३औं महाधिवेशनको सम्मुखमा सुशीलको निधनसँगै कांग्रेसको मूल नेतृत्वबाट कोइराला परिवारको तेस्रो पुस्ता बाहिर प¥यो। अहिले पनि उनीहरू नेतृत्वमा पुग्ने कसरतमा छन्।

प्रकाशित: १४ पुस २०८० ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App