राजनीति

लुम्बिनीमा राष्ट्रियसभा निर्वाचन: गठबन्धनबाट क-कसको उम्मेदवारी दाबी ?

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धनका दलहरुले आ—आफ्नो उम्मेदवारी दाबी गरेका छन्। लुम्बिनी प्रदेशमा दुई सिटका लागि निर्वाचन हुँदैछ। दुई सिटका लागि हुने निर्वाचनमा गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले दुबै सिटमा आफ्नो उम्मेदवारी दाबी गरेको छ।

कांग्रेसबाट रिक्त हुन थालेको एउटा सिट स्वतः आफ्नो हुने र एमालेको रिक्त हुन थालेको अर्को सिटमा पनि कांग्रेसले आफ्नो दाबी गरिरहेको छ। यो प्रदेशमा कांग्रेसकी अनिता देवकोटा र एमालेका कुमार दसौँदीको कार्यकाल सकिएपछि दुई सिट रिक्त हुँदैछ । कांग्रेस लुम्बिनी प्रदेश समितिले लुम्बिनीमा दुईवटै सिट कांग्रेसलाई दिएर अन्य प्रदेशमा सिट बाँडफाँड गरेर गठबन्धन बिच सन्तुलन मिलाउनु पर्ने सुझाव केन्द्रीय समितिलाई दिएको छ। ‘एउटा कांग्र्रेसबाटै सिट खाली हुन लागेकाले एउटा सिटका लागि कांग्रेसबाट स्वतः उम्मेदवारी हुने छ,’ कांग्रेस लुम्बिनी प्रदेशसभापति अमरसिंह पुनले भने, ‘अर्को एमालेबाट रिक्त हुन थालेको सिटमा पनि कांग्रेसकै उम्मेदवार चयन गरिनु पर्ने भनेर हामीले केन्द्रीय समितिलाई सुझाव दिएका छौँ।’

गठबन्धन दलहरुका बिचमा जहाँ जहाँ जुन जुन दलका सदस्यको कार्यकाल सकिँदैछ, ति रिक्त स्थानमा सोही दलका उम्मेदवार चयन गर्ने सहमती भैसकेको छ। तर गठबन्धन बाहिरका दलका तर्फबाट चुनिएका सदस्य रिक्त भएको स्थानमा भने गठबन्धन भित्र आन्तरिक सन्तुलन मिलाएर उम्मेदवार चयन गर्ने सहमती गठबन्धनका बिचमा छ । यो प्रदेशमा एमालेका एक सदस्यको कार्यकाल सकिने भएकाले उक्त रिक्त स्थानमा दलहरुले आआफ्नो दाबी गरिरहेका छन्। तर कांग्रेस प्रदेश समितिले भने लुम्बिनीका दुई वटै सिट आफूले राखेर अन्य प्रदेशमा सिट बाँडफाँडका क्रममा सन्तुलन मिलाउनु पर्ने सुझाव केन्द्रीय तहलाई दिएको र केन्द्रीय नेतृत्व सकारात्मक रहेको जनाएको छ।

‘प्रदेशका दुईवटै सिटमा कांग्रेसकै उम्मेदवार चयन गरिनु पर्छ भनेर हामीले दिएको सुझावलाई केन्द्रीय नेतृत्व धेरै सकारात्मक छ, कांग्रेस प्रदेशसभापति पुनले भने, ‘दुईवटै सिटमा हाम्रो उम्मेदवारी रहने उच्च सम्भावना देखिएको छ।’ उनले प्रदेशको मतभारलाई मध्यनजर गरेर पनि यो प्रदेशको हकमा निर्णय गरिनु पर्ने बताए। ‘हाम्रो प्रदेशको मतभारलाई पनि हेरेर निर्णय गर्नु पर्यो नि,’ पुनले भने ‘मतभार कम भएको प्रदेशमा सोही अनुसार निर्णय गरिनु पर्छ।’

यता कांग्रेसले दुई सिटमा आफ्नो दाबी गरिरहँदा गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले भने एउटा सिट आफ्नो भागमा पर्नै पर्ने दाबी गरिरहेको छ। एउटा कांग्रेसका तर्फबाट रिक्त हुन थालेको सिटमा कांग्रेसलाई र अर्को रिक्त हुन थालेको सिट माओवादीका लागि हुनु पर्ने भन्दै माओवादी प्रदेश समितिलाई दबाब दिएको छ। ‘लुम्बिनीमा जसरी पनि माओवादीका लागि एउटा सिटमा उम्मेदवारी कायम गरिनुपर्छ भनेर हामीहरुले पार्टी नेतृत्लाई भनेका छौँ,’ माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले भने, ‘यो प्रदेशमा माओवादीका तर्फबाट एउटा सिटमा जसरी पनि उम्मेदवारी कायम हुन्छ।’ यसअघि गठबन्धनमा रहेका कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाको उम्मेदवारी कायम हुँदा माओवादीको उम्मेदवारी नरहेकाले यो निर्वाचनमा जसरी पनि कायम गराउने पक्षमा माओवादी छ। ‘यसअघि कांग्रेस , नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार कायम भएको अवस्था हो, तर माओवादीका तर्फबाट अहिले सम्म उम्मेदवार नबनेको अवस्था पनि हो,’ बरालले भने ‘यसर्थ अहिलेको एउटा सिटमा माओवादीको उम्मेदवार अनिवार्य हुनुपर्छ भनेर केन्द्रलाई भनेका छौँ, पार्टी नेतृत्व धेरै सकारात्मक छ।’

यसैगरि गठबन्धनमा आवद्ध सानो दल जनता समाजवादी पनि प्रदेशमा निर्वाचन हुन लागेका दुई सिट मध्य एउटा सिटमा आफ्नो उम्मेदवारी दाबी गरिरहेको छ। यो दलले पनि केन्द्रीय नेतृत्वलाई लुम्बिनीको एउटा सिट आफ्नो कायम गर्नका लागि सुझाव दिएको छ। ‘लुम्बिनीमा रिक्त हुने दुई मध्य एउटा सिटमा हाम्रो उम्मेदवारी हुनुपर्छ भनेर पार्टी नेतृत्वलाई भनेका छौँ,’ जसपाका प्रदेश अध्यक्ष अशोक कुमार यादवले भने ‘केन्द्रीय नेतृत्वले हाम्रो कुरालाई सकारात्मक लिएको छ।’ तर केन्द्रीय तहबाट ठोस निर्णय भैनसकेकाले अहिले आकांक्षीहरुको नाम संकलन नगरिएको यादवले बताए। ‘धेरै साथीहरु उम्मेदवारको आकांक्षीका लागि नाम टिपाउन खोजिरहनु भएको छ, तर केन्द्रबाट हाम्रो उम्मेदवारी हुने नहुने भन्ने बारे एकिन निर्णय भैनसकेकाले अहिलेलाई नाम संकलन नगरौँ भन्ने कुरा भएको छ,’ यादवले भने ‘केन्द्रीय तहबाट आउने निर्देशन अनुसार हामीहरु अगाडी बढ्नेछौँ।’

यसैगरि गठबन्धनमा रहेको नागरिक उन्मुक्ती पार्टीले पनि राष्ट्रियसभामा आफ्नो उपस्थिती खोजिररहेको छ । तर लुम्बिनीमै आफ्नो उम्मेदवारी हुनुपर्ने भन्ने अडानमा भने यो दल छैन । लुम्बिनी या सुदुरपश्चिम प्रदेशमा आफ्नो उम्मेदवारी हुनुपर्ने भन्दै यो दलले गठबन्धन भित्र लबिङ गरिरहेको छ। ‘राष्ट्रियसभा सदस्यका लागि हाम्रोे दलका तर्फबाट पनि उम्मेदवार हुनुपर्ने भनेर गठबन्धन भित्र केन्द्रीय तहमा कुराकानी भैरहेको छ,’ यो दलका प्रदेश संसदीय दलका नेता तथा प्रदेश भौतक पूर्वाधार बिकास मन्त्री धर्मबहादुर चौधरीले भने ‘लुम्बिनी प्रदेशमै उम्मेदवार हुुनपर्छ भनेर किटान गरिएको छैन, लुम्बिनी वा सुदुरपश्चिम प्रदेशबाट उम्मेदवार कायम गरिनुपर्छ भन्ने हामीहरुको भनाई हो।’

यसैगरि नेकपा एकीकृत समाजवादी पार्टीले पनि लुम्बिनीका दुई सिट मध्य एउटा सिटमा आफ्नो उम्मेदवारी दाबी गरेको छ। यो पार्टीको प्रदेश समितिले पनि लुम्बिनीमा एउटा सिटका लागि आफ्नो उम्मेदवारी कायम गर्न केन्द्र समक्ष माग गरेको छ। ‘दुईवटा मध्य एउटा सिटमा हाम्रो उम्मेदवारी कायम हुनुपर्छ भनेर हामीले केन्द्र समक्ष माग गरेका छौँ,’नेकपा (एस) का प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले भने ‘हाम्रो माग उपर केन्द्रीय नेतृत्वले गठबन्धन भित्र छलफल गर्छ र सोही छलफलका आधारमा एक खालको निर्णय होला, सोही निर्णय अनुसार हामीहरु अगाडी बढ्छौँ।’ उनले गठबन्धनका बिच सन्तुलन मिलाउनका लागि यो प्रदेशको एउटा सिटमा दलका तर्फबाट उम्मेदवारी कायम गरेर अगाडी बढ्न पार्टीलाई सुझाव दिईएको समेत बताए।

यसैगरि लोकतान्त्री समाजवादी पार्टी पनि लुम्बिनीबाटै राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार आकांक्षी देखिएको छ। यो पार्टीले पनि लुम्बिनीबाटै आफ्नो दाबी रहेको बताउँछ। यो पार्टीका संसदीय दलका तथा प्रदेश गृहमन्त्री सन्तोष कुमार पाण्डेले लुम्बिनीबाट एक सिटमा उम्मेदवारी दाबी रहेको बताए । ‘लुम्बिनीको एउटा सिटका लागि हाम्रो उम्मेदवारी दाबी रहेको छ,’ मन्त्री पाण्डेले भने ‘हामीहरुले यो प्रदेशको एक सिटका लागि उम्मेदवारी कायम गर्न भन्दै केन्द्रलाई भनेका पनि छौँ।’

सिके राउत नेतृत्वको जनमत तराई पार्टीले भने लुम्बिनीमा आफ्नो उम्मेदवारी दाबी नरहने यो पार्टीले जनाएको छ। यो पार्टीका लुम्बिनी प्रदेश संयोजक राजेन्द्र प्रसाद गुप्ताले पूर्वबाट आफूहरुको उम्मेदवारीका लागि दाबी रहने तर लुम्बिनीमा भने उम्मेदवारी नरहने बताए। ‘हाम्रो प्रदेशबाट उम्मेदवारी रहँदैन,गुप्ताले भने, ‘पूर्वी क्षेत्रबाट हाम्रो दाबी रहन्छ, तर यहाँ रहन्न।’

यता गठबन्धनमै रहेको अर्को सानो दल राष्ट्रिय जनमोर्चाले भने यो प्रदेशमा हुने चुनावका लागि आफ्नो कुनै पनि आन्तरिक तयारी गरेको छैन। तर गठबन्धनमा आवद्ध दलहरुले आफूसंग कुनै सरसल्लाह नगरेको भन्दै यो दल असन्तुष्ट भने छ। फलतः सरसल्लाहको वातावरण नबनेको खण्डमा यो दलले आफ्नो छुट्टै उम्म्ेदवारी दिएर आफ्नो मत सुरक्षित गर्ने तयारी गरेको छ। ‘हामीहरु गठबन्धनमा आवद्ध रहेपनि गठबन्धन भित्र हुने कुनै पनि छलफलमा हामीहरुलाई बोलाईन्न,’ यो पार्टीका प्रदेश अध्यक्ष बमबहादुर खत्रीले भने ‘चुनावका बेलामा पनि हामीहरुसंग सरसल्ला नहुनु दुखद हो, यसर्थ मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने यो अवस्था रहेको खण्डमा हामीहरु प्रदेशमा छुट्टै उम्मेदवारी दिएर हाम्रो मत सुरक्षित राख्छौँ।’ तर अहिले सम्म पार्टीले यो प्रदेशको चुनावमा आफ्नो उम्मेदवारी बारे कुनै निर्णय नगरेको उनले बताए। ‘हामीहरुले गठबन्धनमा आवद्ध अन्य दलहरुले सबै सिट मिलाईसकेको भन्ने पनि सुनेका छौँ,’ प्रदेश अध्यक्ष खत्रीले भने, ‘हामीहरुलाई बेवास्ता गरेर अरु दलहरुले मात्रै गरेको निर्णय गर्नु भन्दा पनि हामीलाई बोलाएर राजमोलाई सिट दिन नसकिनुका कारण खुलाईदिए हाम्रो चित्त बुझ्थ्यो नि।’  

प्रकाशित: ११ पुस २०८० १२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App