राजनीति

फागुन ३ मा सभामुखको निर्वाचन

पोखरा – प्रदेश–४ को पहिलो बैठक सोमबार बस्ने भएपछि त्यसका लागि तयारी तीव्र  पारिएको छ । सोमबारको पहिलो बैठकलाई व्यवस्थित बनाउन शनिबार दिँउसो सर्वदलीय बैठकसमेत भएको छ । नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रभित्रको प्रदेशसभामा पहिलो बैठक बस्दैछ । त्यसका लागि व्यवस्थापनलाई निकै तिव्रता दिइएको छ।

शनिबार बसेको सर्वदलीय बैठकले प्रदेशसभाको पहिलो बैठकपछि फागुन ३ गते दोस्रो बैठक बस्ने निर्णय गरेको छ । सोही बैठकबाट सभामुख चयन हुनसक्ने बैठकमा सहभागी एक सदस्यले बताए । ‘फागुन ३ गते दोस्रो बैठक बस्नेछ, सम्भवत सोही बैठकमा नै सभामुख चयन हुनेछन्,’ ती सदस्यले भने, ‘सभामुख र उपसभामुख चयनमा २ दिनको अन्तर राख्नुपर्ने व्यवस्था छ, पहिलो बैठकको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने बाध्यकारी भएकाले पनि ३ गतेलाई दोस्रो बैठक बोलाइएको हो।’

शनिबारको सर्वदलीय बैठकले प्रदेससभा सदस्यलाई प्रदेससभा परिसरमा प्रवेश सम्बन्धमा निर्णय गरेको छ । प्रदेससभा सदस्यहरूले प्रदेससभामा निर्वाचित भएपछि निर्वाचन आयोगले दिएको प्रमाणपत्रको आधारमा प्रवेश पाउनेछन् । तत्काल परिचयपत्र नबनेकाले प्रमाणपत्र खोजिएको ती सदस्यले बताए । सभामुख चयन नभइनकेकाले ज्येष्ठ सदस्यले नै बैठकको अध्यक्षता ग्रहण गर्नेछन्।

बैठकमा प्रदेश प्रमुखको पत्र ज्येष्ठ सदस्यले पढेर सुनाउँनेछन्, त्यसपछि दलीय आधारमा प्रदेससभा सदस्यलाई न्यूनतम ५ मिनेटका दरले धारणा राख्ने समय तोकिएको छ । बैठकमा ठूला दलका तर्फबाट ३÷३ जना बोल्नेछन्, त्यसका लागि एमालेलाई ३० मिनेट, कांग्रेसलाई १७ र माओवादीलाई १४ मिनेटको समय दिने निर्णय भएको सर्वदलीय बैठकका अध्यक्षता गरेका जनकलाल श्रेष्ठले बताए।

‘न्यूनतम ५ मिनेट समय तोकिएको छ, त्यसका लागि प्रत्येक दलले बोल्ने सदस्यको नामावली अग्रिमरूपमा बुझाउनुपर्नेछ,’ उनले भने, ‘ठूला दलले कम्तीमा एक महिला सदस्यलाई बोल्न दिनुपर्नेछ ।’ उनका अनुसार पहिलो बैठकमा प्रदेशसभाको अन्तरिम कार्यविधि, २०७४ पास हुनेछ । त्यस्तै सोही बैठकमा प्रदेससभा सञ्चालन कार्यविधिअनुसार सभामुखको अनुपस्थिती भएको खण्डमा सबै दलबाट १÷१ जनाको नाम दिइने निर्णय भएको छ । बैठकले पोसाकका विषयमा पनि निर्णय गरेको छ । बैठकमा सहभागी हुने सदस्यहरूले जातीयसहित औपचारिक पोसाक लगाउन सक्नेछन्।

२२ गतेको पहिलो बैठकको लागि आइतबार नमुना अभ्यास गरिने भएको छ । प्रदेससभाको पहिलो बैठकलाई सभ्य तरिकाले सम्पन्न गर्न २१ गते अभ्यास बैठक गर्ने निर्णय भएको श्रेष्ठले बताए । जेष्ठ सदस्य श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैैठकमा एमाले, माओवादी केन्द्र, कांग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँशक्तिका सदस्यहरू सहभागी थिए । बैठकमा ज्येष्ठ प्रदेशसभा सदस्यसहित चार दलका नौंजना प्रतिनिधि सहभागी थिए।

पहिलो बैठकलाई व्यवस्थित बनाउन आएका संघीय संसदको सचिवालयका पदाधिकारीले शनिबारको सर्वदलीय बैठकको समेत व्यवस्थापन गरेका थिए । सचिवालयका उपसचिव गोपाल सिग्देलका अनुसार सोमबार बिहान ११ बजे बस्ने भएपछि व्यवस्थापनलाई चुस्त पारिएको बताए । उनका अनुसार पहिलो बैठकमा ५९ जना प्रदेशसभा सदस्य सहभागी हुनेछन् । प्रदेश–४ मा ६० जना सदस्य भए पनि मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका दिपक मनांगे भने फरार सूचीमा रहेकाले ५९ जना मात्र सहभागी हुनेछन्।

उनका अनुसार अहिलेसम्म प्रादेशिक सरकार गठन नभएकाले सभाहलमा सबै सदस्यका लागि एकैखाले कुर्सी व्यवस्थापन गरिएको छ । उनका अनुसार पहिलो दलका सदस्यहरू सभामुख (जेष्ठ सदस्य) को दायाँपट्टिका कुर्सीमा बस्नेछन् । त्यस्तै दोस्रो ठूलो दलका सदस्यहरू बाँयापट्टिका कुर्सीमा बस्नेछन् । तेस्रो ठूलो दलका सदस्यहरू दायाँपट्टि बस्नेछन् । प्रदेशसभा सदस्यहरू बाहेक सचिवालयका पदाधिकारी, विशिष्ठ पाहुनाका लागि बस्ने व्यवस्थापन गरिएको उनले बताए।

‘हामी पनि पहिलो बैठकको अभ्यासमै छौ । सबै मिलाउँदै जाने हो । संघीय संसद्को अभ्यास प्रदेशमा हुँदा सुरुमा व्यवस्थापनमा केही समय लाग्छ,’ उनले भने । प्रदेशसभाको सहजीकरण गर्न सचिवालयका सहसचिव जिवराज बुढाथोकी, उपसचिव सिग्देल, अधिकृत अनन्त कोइराला र प्राविधिक सुदर्शन गौतम पोखरामा रहेर काम गरिरहेका छन् । उनका अनुसार पहिलो बैठकमा १६ जना मर्यादापालक रहनेछन् । संसद् सचिवालयमा भने २७ जना कर्मचारी रहनेछन्।

 

प्रकाशित: २१ माघ २०७४ ००:५२ आइतबार

सभामुखको निर्वाचन