राजनीति

भारतीय विदेशमन्त्रीको भ्रमण बेमौसमी : भट्टराई

गोरखा – नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण बेमौसमी भएको बताएका छन्। 

शनिबार गोरखामा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले अहिले स्वराज नेपाल भ्रमणमा आएकोमा आफू विरोध नगर्ने बताउँदै सरकार बनेपछि आएको भए झनै राम्रो हुने टिप्पणी गरे। स्वराज नयाँ सरकार बन्ने मुखैमा नेपाल आएकाले विभिन्न टिप्णी र विश्लेषण हुनथालेको भन्दै उनले चिन्ता व्यक्त गरे। भट्टराईले नेपालले दुवै छिमेकी राष्ट्रसँगको सम्बन्ध सुमधुर बनाउदै अगाडि बढ्नुपर्ने कुरामा जोड दिए। 

पत्रकारसँगको भेटघाटपछि गोरखा उद्योग बाणिज्य संघको कार्यक्रममा बोल्दै भट्टराईले उद्योग संघ गोरखालाई  व्यापारको योजना बनाएर अगाडि बढ्न सुझाव दिएका छन्। ‘इतिहासमा मात्रै सीमित नभई गोरखालाई पहिचान दिन समृद्धि हेर्न गोरखा जाऔँ’ भन्ने नारालाई सार्थक बनाउने गरी काम गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताए। 

प्रकाशित: २० माघ २०७४ १०:२४ शनिबार

भारतीय विदेशमन्त्रीको भ्रमण बेमौसमी भट्टराई