राजनीति

फागुन दोस्रो साताभित्र देशले नयाँ सरकार पाउँछ : शेरधन राई

खोटाङ– नेकपा एमालेका नेता शेरधन राईले आगामी फागुन दोस्रो साताभित्र नयाँ सरकार निर्माण हुने बताएका छन्। खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा २१ करोडको लागतमा निर्माण गर्न लागिएको ला ज्लायो वाङथोप गुम्बा शुक्रबार शिलान्यास गर्दै एमाले पोलिटव्यूरो सदस्य राईले आगामी फागुन ३ गतेसम्ममा ७ वटै प्रदेशमा प्रदेश सरकार निर्माण हुने र फागुन दोस्रो साताभित्र वाम गठबन्धन नेतृत्वमा स्थिर र बलियो सरकार बन्ने बताएका हुन्। ‘फागुन ३ गतेसम्ममा सबै प्रदेशले प्रदेश सकार पाउने छन्, त्यसपछि फागुन दोस्रो साताभित्र वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ,’ एमाले प्रदेश नम्बर १ का उपसंयोजक रहेका राईले भने, ‘७ वटा प्रदेशमध्ये ६ वटामा बाम गठबन्धनले नेतृत्व गर्ने छ।’

नेता राईले नयाँ सरकार देशमा स्थायी शान्ती र राजनैतिक स्थायीत्व कायम गर्दै सामाजिक सुरक्षा सहितको सम्मानको ग्यारेन्टी गर्ने बताए। उनले मुलुकको विकास र संबृद्धिको चाहनालाई मुर्त रुप दिन ठोस योजनाकासाथमा अगाडि बढ्नु नयाँ सरकारको कार्यभार हुने उल्लेख गरे। ‘देशमा भौतिक पुर्वाधारको बिकास गर्नुछ, प्रत्येक कुना कुनालाई सडकबाट जोड्नु छ । प्रत्येकको घरमा बत्ती बाल्नु छ । घर घरमा पिउने पानीको धारा बिस्तार गर्नुछ,’ राईले भने, ‘प्रत्येक गाउँमा शैक्षिक संस्था, अस्पताल खोल्नु छ। रोजगारीका अवसर सिर्जना गर्नु छ । अवशर खोज्दै बसाई सर्नुपर्ने बाध्यता अन्त्या गर्नु छ।’

तीन वटै सरकार पाएपछि देश स्वर्णीम युगमा प्रवेश गर्ने राईले बताए। कार्यक्रमका अधिकांश वक्ताले शेरधनलाई भावी मूख्या मन्त्रीकारुपमा सम्बोधन गरेका थिए। कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई लगायतले बोलेका थिए।

प्रकाशित: १९ माघ २०७४ १०:०१ शुक्रबार

दोस्रो साताभित्र देशले सरकार पाउँछ शेरधन राई