राजनीति

कमल थापाले किन भेटेनन् स्वराजलाई ?

काठमाडौं- उपप्रधान तथा उर्जामन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेटेनन्। बिहीबार अपरान्ह नेपाल आएकी स्वराजले आज प्रधानमन्त्रीलाई बालुवाटार स्थित निवासमा भेटिन्। सरकारका बरिष्ठ मन्त्रीहरुलाई बालुवाटारमा नै प्रधानमन्त्रीले बोलाएका थिए। दिवा भोज सहितको भेटमा राप्रपाका अध्यक्ष तथा सरकारका वरिष्ठ मन्त्री कमल थापा देखा परेनन्।

बालुवाटारमा स्वराज पुग्दा थापा भने पार्टीको कार्यक्रमको लागि भन्दै चितवन तर्फ लागेका थिए। पार्टीको पूर्व निर्धारित कार्यक्रम भएको भन्दै उनी त्यस तर्फ लागेका थिए।

‘पार्टीको पूर्व निर्धारित कार्यक्रमले गर्दा अध्यक्ष ज्यूले उहाँलाई भेट्न सक्नु भएन’, राप्रपाका सह-प्रवक्ता मोहन श्रेष्ठले भने, ‘बाहिर आए जस्तो होइन।’ उनका अनुसार थापा चितवन, मकवानपुर, वारा र पर्साको पार्टी कार्यक्रम सकेर २२ गते काठमाडौं फर्कने छन्।

थापा नाकाबन्दिको समयमा केपी ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री समेत रहेका थिए। स्रोतका अनुसार स्वराजको भ्रमणलाई उनले ‘अस्वभाविक’ रुपमा लिएका छन्। बिहीबार नेपाल आएकी स्वराजले एमाले अध्यक्ष केपी ओली र राजपाका नेताहरुलाई हिजो नै सोल्टी होटलमा भेटेकी थिइन्। यस्तै आज विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटिन्। मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी थिइन्। एमाले अध्यक्ष ओलीले हिजो स्वराजलाई रात्री भोज दिएका थिए।

प्रकाशित: १९ माघ २०७४ ०८:४९ शुक्रबार

कमल थापाले किन भेटेनन् स्वराजलाई