राजनीति

‘मानवविहीन मध्यपहाड’

विज्ञले पहिल्यै भनेथे, एमालेले बल्ल देख्यो!

एमालेले ‘झुलाघाट–चिवाभन्ज्याङ: समृद्धिका लागि संकल्प यात्रा’का क्रममा मध्यपहाडका गाउँबस्ती रित्तिँदै गएको र विद्यालय बन्द हुन थालेकाले त्यहाँको जनसंख्या ऋणात्मक भएको निष्कर्ष निकालेको छ।

एमालेले आइतबार सञ्चारकर्मीसँगको अन्तक्रियामा प्रस्तुत गरेको संकल्प यात्राका ३२ दृष्टिकोणमा पहाडका गाउँबस्ती बसाइँसराइका कारण रित्तिँदै गएका कारण त्यहाँको जनसंख्या दिनानुदिन ऋणात्मक भएको उल्लेख छ।

‘हामीले यात्रा गरेका ३० जिल्लामध्ये अधिकांशको जनसंख्या वृद्धिदर ऋणात्मक छ। कतिपय गाउँबस्ती रित्तिँदै गएका छन्। विद्यार्थी अभावमा कतिपय विद्यालय बन्द हुने अवस्थामा छन्। खेतीयोग्य जमिन बाँझो बन्दै छ। गाउँमा श्रमका लागि युवाको अभाव छ’, एमालेको निष्कर्ष छ।

एमालेका अनुसार कतिपय ठाउँमा त वृद्धवृद्धाको हेरचाह गर्ने या मलामी जाने युवाको समेत अभाव छ। बसाइँसराइका पछाडि केही बाध्यात्मक कारण रहेको एमालेले जनाएको छ।

‘पछिल्लो समय नेपालमा अवसर नै छैन, नेपाल बन्दै बन्दैन, विदेशमा अवसर नै अवसर छ र जसरी पनि त्यहाँ पुग्न पाइयो भने जिन्दगी सप्रिहाल्छ भन्ने भ्रामक प्रचार, प्रायोजित भाष्य, त्रुटिपूर्ण शैक्षिक प्रणाली र मनोविज्ञानले पनि युवाको बाह्य आप्रवासनलाई बढावा दिइरहेको छ। यसको समाधानका लागि तत्काल पहल अनिवार्य छ’, एमालेले भनेको छ।

एमालेले युवाको विदेश पलायनले जटिल पारिवारिक समस्याहरू निम्तिन थालेको जनाएको छ। ‘वृद्धवृद्धाको हेरचाह, नानीहरूको स्याहारसुसार, हुर्काइ र पढाइ तथा महिलाको जीवनमा कतिपय जटिलता थपिएको र मनोवैज्ञानिक समस्या उत्पन्न भएको पायौं’, एमालेले उपलब्ध गराएको जानकारी पत्रमा लेखिएको छ, ‘कम्तीमा प्रत्येक वडामा ज्येष्ठ नागरिकका लागि दिवा मिलन केन्द्र, समय–समयमा स्वास्थ्य जाँच, नानीहरूका लागि हुर्काइ र पढाइको विशेष व्यवस्था र श्रीमान् बिदेसिएका कारण एक्लो जीवन बिताइरहेका महिलाका लागि आवश्यक मनोसामाजिक परामर्श, वित्तीय साक्षरता र सुरक्षाका लागि स्थानीय तह, प्रशासन र राजनीतिक दलले समेत विशेष ध्यान दिनुपर्ने देखियो।’

एमालेले मंसिर १४ गत बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा उत्तोलनसँगै आरम्भ गरेको ‘झुलाघाट–चिवाभन्ज्याङ: समृद्धिका लागि संकल्प यात्रा’ पुस १ गते पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन भएको थियो। एमालेले संकल्प यात्रा ऐतिहासिक, अभूतपूर्व र अत्यन्त उपलब्धिपूर्ण भएको दाबी गरेको छ।

यात्राका क्रममा ३० जिल्लामा विभिन्न कार्यक्रम गरियो। त्यस्तै २ हजार किलोमिटरभन्दा बढी यात्रा भयो। जनसभा, कोणसभा, साना भेला र जमघट, सर्वदलीय/सर्वपक्षीय बैठक, सांस्कृतिक कार्यक्रम र अन्तक्र्रियाका माध्यमबाट लाखौं नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद भएको एमालेले जनाएको छ।

 नेपालको पहाडी भूभागको बदलिँदो तस्बिर र समस्या, समृद्धिका अवसर र चुनौतीलाई प्रत्यक्ष देखेको एमालेले १ करोड २० लाखभन्दा बढी जनता बस्ने त्यस भेगको सामाजिक–आर्थिक रूपान्तरण र समृद्धिका लागि नयाँ संकल्प बोकेर फर्केको जनाएको छ।

‘यतिबेला समाजमा निराशा फैलाउने, नकारात्मक मनोविज्ञान निर्माण गर्ने र नेपाल समृद्ध बन्दैन, बन्नै सक्दैन भन्ने संकथन निर्माण गर्ने प्रयास निकै व्यापक रूपमा भइरहेको छ।

केही पात्रले यस निराशालाई लोकतान्त्रिक गणतन्त्रकै विरुद्धमा प्रयोग गर्ने प्रयास गरिरहेका छन्। केहीचाहिँ यसलाई पुराना पार्टीहरूको असफलता भन्ने भाष्य निर्माण गर्दै आफूसँग सबै समस्याको समाधान रहेको भ्रम छर्न खोजिरहेका छन्’, एमालेले भनेको छ।

एमालेले लोकतान्त्रिक गणतन्त्र, संविधान र अन्य उपलब्धिलाई अवमूल्यन गर्दै समाजमा निर्माण गर्न खोजिएको नकारात्मक मनोविज्ञान र नैराश्यको अवस्था अन्त्य गरेर मुलुक बन्छ, बन्दैछ भन्ने दह्रो आत्मविश्वास निर्माण गर्नु, प्राप्त उपलब्धिहरूको रक्षा एवं संवर्ध गर्नु तथा समाजमा आशावाद र सकारात्मक मनोविज्ञान निर्माण गर्नु यात्राको उद्देश्य रहेको जानकारी गराएको छ। उसले मध्यपहाडी भेगमा सडकको दुरावस्था सुधार गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ।

अन्तक्र्रियामा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित रक्षा र स्वाभिमानको संवर्धन गर्न, लोकतन्त्रको रक्षा र विकास गर्न, सामाजिक सद्भाव र राष्ट्रिय एकता दर्बिलो बनाउन तथा विकास निर्माण, समृद्धि र सुशासन कायम गर्न बलियो राष्ट्रिय शक्ति निर्माण गर्नु अपरिहार्य रहेको बताए। उनले एमाले नेतृत्वको सरकारले मात्रै मुलुक निर्माण गर्न सक्ने जिकिर गरे।

एमालेका अनुसार पूर्वाधारका दृष्टिले मध्यपहाडका गाउँबस्तीमा ठूलो परिवर्तन आएको छ। ‘प्रायः सबै पालिका र वडामा कच्ची नै भए पनि सडकको पहुँच पुगेको छ। हिजो पाँचछ दिनसम्म लगाएर मात्रै पुगिने गाउँबस्ती आज सडक पूर्वाधारका कारणले केही घण्टाकै पहुँचभित्र आएका छन्।

आम रूपमा सबै ठाउँमा खानेपानी, बिजुली र टेलिफोन सुविधा पुगेको छ। शिक्षा र स्वास्थ्यका पूर्वाधार पनि तुलनात्मक रूपमा राम्रा भएका छन्। जनताको चेतनास्तर पनि आश्चर्यजनक रूपमा वृद्धि भएको छ’, एमालेको निष्कर्ष छ।

समृद्धिका आधार

एमालेले मध्यपहाड जलस्रोतको भण्डार भएको जनाएको छ। पञ्चेश्वर, पश्चिमसेती, माथिल्लो कर्णाली, कालीगण्डकी, मध्य मस्र्याङ्दी, बुढीगण्डकी, सुनकोसी, दुधकोसी, अरूण, तमोर र काबेलीजस्ता परियोजना यस भेगमा सञ्चालनमा छन् या सञ्चालनको पर्खाइमा छन्। यी योजनाको सही कार्यान्वयन र लाभ स्थानीयले न्यायोचित रूपमा पाउने सुनिश्चित ढाँचा निर्धारण गर्न सके कायापलट गर्न सकिने एमालेको निष्कर्ष छ।

यस्तै सुरम्य हावापानी, सुन्दर दृष्यावलोकन, परम्परागत खाना र सांस्कृतिक विविधताका दृष्टिले धनी मध्यपहाड पर्यटनका लागि पनि उर्बर रहेको एमालेको निष्कर्ष छ। पर्यटन मध्यपहाडी क्षेत्रको विकासको महत्त्वपूर्ण आधार बन्न सक्ने एमालेको ठहर छ।

मध्यपहाडी क्षेत्रमा खानी र खनिजजन्य पदार्थ पनि भएको एमालेले जनाएको छ। दैलेखमा अन्वेषण र उत्खनन हुँदै गरेको पेट्रोलियम र ग्यास, बैतडीको फस्फोराइट तथा म्याग्नेसाइट, जाजरकोटलगायत जिल्लामा पाइने मूल्यवान पत्थर, दोलखाको म्याग्नेसाइट र चुनढुंगा यसका दृष्टान्त हुन्।

यी खानी र खनिज पदार्थमा नेपालको राष्ट्रिय स्वामित्व सुनिश्चित हुने र वातावरणसमेत संरक्षण हुनेगरी अन्वेषण, उत्खनन र प्रशोधन गर्न सकेमा मध्यपहाडको समृद्धिका लागि महत्त्वपूर्ण आधार बन्न सक्ने निष्कर्ष एमालेको छ।

समृद्धिका समस्या

पहाडी गाउँबस्तीमा बसाइसराइँ ठूलो चुनौतीको रूपमा देखापरेको छ। यात्रा गरेका ३० जिल्लामध्ये अधिकांशमा जनसंख्या वृद्धिदर ऋणात्मक रहेको एमालेले जनाएको छ। कतिपय गाउँबस्ती रित्तिँदै गएका छन्।

विद्यार्थीको अभावमा कतिपय विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्। उत्पादनले बजार, उचित मूल्य र संरक्षण नपाउनु पनि बसाइसराइँको कारण बन्न पुगेको एमालेले जनाएको छ।

एकातिर सस्तो मूल्यमा भित्रिने भारतीय र अन्य मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता अर्कातिर बिचौलियाको दोहनका कारण किसान आफ्नो उत्पादनको उचित मूल्य पाउनबाट वञ्चित भएको एमाले निष्कर्ष छ।

‘कतिपय उत्पादनको लागत पनि नउठ्ने अवस्था देखियो, कृषिमा समग्र प्रणाली लागु गर्नु आवश्यक छ, व्यावसायिक खेती गर्न चाहनेलाई भूमिको व्यवस्था, पुँजी र प्रविधिको प्रबन्ध, बाली बिमा, उत्पादनको समर्थन मूल्य र बजारको व्यवस्था, राज्यद्वारा बिक्रीको सुनिश्चितता, उत्पादक र उपभोक्ताबीच सिधा सम्बन्ध हुने खालको वितरण प्रणालीको व्यवस्था, बिचौलियाको अन्त्य, स्वदेशी उत्पादनलाई प्रोत्साहन, आयातित खाद्य र पेय वस्तुलाई निरुत्साहन, बाँझो जमिनको सदुपयोग गर्नु अनिवार्य देखियो’, एमालेले समस्याका रूपमा औंल्याएको छ।

उसले बैंक र वित्तीय संस्थाहरूबाट किसान तथा उद्यमीलाई सहुलियतपूर्ण ऋण तथा अन्य सुविधा सुनिश्चित गर्नुपर्ने आवश्यककता औंल्याएको छ। मध्यपहाडमा भूमिहीनको उल्लेख्य संख्या देखिएको पनि एमालेले जनाएको छ।

‘दशकौंदेखि पर्ती जमिन आवाद गरेर बसेका तर जग्गा नापी नभएको र जग्गाधनी प्रमाणपुर्जा नपाएका कारण भूमि अधिकारबाट वञ्चित भएका हजारौं परिवार भेटिए। किसानहरूको हितमा हुनेगरी अविलम्ब भूमि समस्या समाधान गर्नु आवश्यक छ’, एमालेले भनेको छ।

यसैगरी पछिल्लो समय बाँदर, बँदेल, दुम्सी, घोरललगायत वन्यजन्तुका कारण बालीमा भइरहेका नोक्सानी र पीडा पनि बसाइसराइँको महत्त्वपूर्ण कारक बन्न पुगेको उल्लेख गर्दै एमालेले यसको दिगो समाधानमा जोड दिएको छ।

एमालेले यात्राका क्रममा जलवायु परिवर्तनका प्रतिकूल असरको स्पष्ट छाया मध्यपहाडी क्षेत्रमा परेको जनाएको छ। ‘पानीका मुहान सुकिरहेका छन्। पानीको सतह घटेका कारण सिँचाइ कुला सुख्खा हुन थालेका छन्। बाढीपहिरोको जोखिमले बस्ती रित्तिएका छन्। वर्षाको असामान्य प्रवृत्तिका कारण परम्परागत बालीनालीमा ठूलो असर परेको छ।

जलवायु संकटको मुख्य मारमा महिला, किसान र भिरालो पाखा या नदी किनारमा बस्न बाध्य विपन्न परेका छन्। अनुकूलन र प्रतिरोधी क्षमता अभिवृद्धि गर्न ठोस योजना ल्याउन ढिलो भइसकेको छ’, एमालेले भनेको छ।

यस्तै उद्यमी–व्यवसायी निराश र हतोत्साहित अवस्थामा देखिएको एमालेले जनाएको छ। उसका अनुसार बंैकको बढ्दो ब्याजदर, अपारदर्शी र झन्झटपूर्ण कर नीति, कर प्रशासकको निर्मम व्यवहार, सरकारको भ्रष्ट र अमैत्रीपूर्ण नीतिका कारण धेरैले व्यवसाय बन्द गरेको, पूर्ण क्षमतामा नचलाएको र व्यवसायमा भविष्य छ भन्ने आत्मविश्वास व्यवसायीमा टुटेको पाइएको छ।

‘उद्यमी–व्यवसायीको मनोबल उठाउन आवश्यक नीतिगत र संरचनागत सुधार तत्काल हुनुपर्ने देखिएको छ’, एमालेले भनेको छ।

निर्माण ठप्प

मध्यपहाडी क्षेत्रमा विकास निर्माणका काम ठप्प प्रायः देखिएको एमालेले जनाएको छ। ‘भेरी–बबई, सुनकोसी–मरिन, पुष्पलाल लोकमार्ग जस्ता यस्ता क्षेत्रका रूपान्तरणकारी आयोजनाको प्रगति सन्तोषजनक छैन।

सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत सुरुङ खन्ने काम तीव्र गतिमा भइरहेको छ तर बजेट छैन। बजेट छैन भनी काम सुस्त गर्दा ठेकेदार कम्पनीलाई परियोजनाले क्षतिपूर्ति तिर्नुपर्छ, यसमा सरकार उदासीन देखिएको छ,’ एमालेले भनेको छ।

एमालेले निरोगी नेपाल अभियानलाई सार्थक तुल्याउन विशेषज्ञसहितको सुविधा सम्पन्न अस्पतालको अवधारणाअन्तर्गत एकैसाथ शिलान्यास गरिएका ३९६ वटा आधारभूत अस्पताल वर्तमान सरकारले अलपत्र पारेको आरोप लगाएको छ। रणनीतिक सडकहरूको बजेट वर्तमान सरकारले पूर्वाग्रहपूर्ण ढंगले कटौती गरेको आरोप पनि एमालेको छ।

‘विकासका काममा चरम राजनीतिक पक्षपात देखापरेको छ। कतिपय ठाउँमा निर्माण व्यवसायीले सम्पन्न भइसकेका कामको पनि भुक्तानी पाएका छैनन् भने कतिपय ठाउँमा उनीहरूको चरम लापरबाही छ, उनीहरूका अगाडि सरकार निरीह देखिन्छ,’ एमालेले भनेको छ।

समन्वय अभाव

पूर्वाधार विकासमा सरकारी निकायबीच समन्वय नभएको एमालेको निष्कर्ष छ। ‘सानो सुधारबाट पनि हुन सक्ने ठूलो लाभबाट मुलुक वञ्चित भइरहेको छ। भेरी–बबई डाइभर्सनको सुरुङ सम्पन्न भएको वर्षौं बित्यो, त्यसको मूल बाँध बनेको छैन। रकम अभावमा यो स्थिति सुनकोसी–मरिन आयोजनामा पनि दोहरिन सक्छ। यस्तै नियति द्रुतमार्गले पनि बेहोरिरहेको हुनसक्छ,’ एमालेले भनेको छ।

सरकारी निकायबीच समन्वय अभावको मारमा राजमार्ग निर्माणमा परेको एमालेको दाबी छ। नेपाल विद्युत प्राधिकरणले स्वीकृति नदिएका कारण मध्यपहाडी राजमार्ग मात्रै हैन, अन्ष् राजमार्ग निर्माण पनि अवरुद्ध हुने खतरा रहेको एमालेले जनाएको छ।

‘बुढीगण्डकी जलाशययुक्त परियोजनाको कारण देखाई गोरखा–धादिङ–आरुघाट खण्डमा सडक बनाइएकै छैन।’

बेतान–कर्णाली प्रस्तावित जलविद्युत् परियोजनाले झुलाघाटमा पुल बनाउन स्वीकृति नदिएका कारण कर्णाली चिसापानीबाट १२५ किलोमिटर दूरी पार गरेर पुगिने मंगलसेन जान झन्डै ४ सय किलोमिटर घुमाउरो बाटो तय गर्नुपर्ने बाध्यता रहेको एमालेले जनाएको छ।

कान्तिपथलाई अलिकति सुधार गर्ने हो भने प्रदेश राजधानी र काठमाडौंबचको दूरी २ घण्टाभन्दा कम हुने मात्रै हैन, मदन भण्डारी राजमार्ग हुँदै चतरासम्मको यात्रा साह्रै छोटो हुन सक्ने एमाले निष्कर्ष छ।

कुशासनले असन्तुष्टि

भ्रष्टाचार, कुशासन र राजनीतिक बेथितिविरुद्ध समाजमा असन्तुष्टि देखापरेको एमालेले जनाएको छ। ‘असन्तुष्टि लोकतान्त्रिक प्रणाली, गणतन्त्र या संवैधानिक व्यवस्थाविरुद्ध होइन, यसलाई सञ्चालन गर्ने पात्रहरूविरुद्ध हो’, एमालेले भनेको छ। पात्रहरूप्रतिको असन्तुष्टिलाई प्रणालीकै विरुद्ध प्रयोग गर्न सकिन्छ कि भनेर कतिपय तत्व प्रयत्नशील रहेको एमालेको आरोप छ। एमालेले सुशासन, विकास र समृद्धिको यात्रालाई तीव्र पारेर र जनताको विश्वास जितेर मात्र यस्ता तत्वलाई निस्तेज गर्न सकिने जनाएको छ।

इन्जिनियरिङ ढाँचामा त्रुटि

मध्यपहाडी लोकमार्गको इन्जिनियरिङ, अलाइनमेन्ट र ढाँचामा थुप्रै सुधार गर्नुपर्ने एमालेको निष्कर्ष छ। कतिपय स्थानमा पहिल्यै बनेको सडकमा लोकमार्गलाई जोडिएको, कतैकतै निर्जन स्थानबाट बाटो लगिएको, कतिपय ठाउँमा राजनीतिक दबाब र प्रभावका कारण अनावश्यक घुमाउरो बनाइएको एमालेले जनाएको छ।

 ‘एक हजार आठ सय ७९ किलोमिटर लामो यसको संरचना राष्ट्रिय राजमार्गका दृष्टिले उपयुक्त होइन। राजमार्ग भनेको बिनारोकावट सवारी दौड्ने मार्ग हो। पुष्पलाल लोकमार्गको टेक्निकल अडिट जरुरी छ, गरिँदै छ।

प्रारम्भिक अवलोकनका आधारमा भन्न सकिन्छ–केही स्थानमा पुनर्रेखांकन गर्ने, आवश्यक पर्ने स्थानमा सुरुङ र भायाडक्ट (अग्ला पुल) को प्रयोग गरी यसको समय र दूरी छोट्याउन सकिन्छ’, एमालेले भनेको छ।

यसैगरी एमालेका अनुसार मध्यपहाडी लोकमार्गको जाजरकोट, लमजुङ, सिन्धुपाल्चोक, रामेछापका कतिपय ठाउँमा लोकमार्ग ट्र्याक नै खोल्न बाँकी छ। कास्की–लमजुङ खण्ड र सिन्धुपाल्चोक र रामेछापका कतिपय भागमा लोकमार्ग भएर यात्रा गर्न नसकिएको एमालेले जनाएको छ।

कास्की, काभ्रे र दोलखामा वैकल्पिक बाटो प्रयोग गर्नुपरेको, कतिपय ठाउँमा ठेक्का लगाउनै बाँकी रहेको, कति ठाउँमा ठेकेदारहरूले काम अलपत्र पारेर जनतालाई सास्ती दिएको, प्रदेशस्तरमा हेर्दा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा जत्ति पनि काम बागमती र कोसी प्रदेशका जिल्लामा हुन नसकेको पाइएको एमालेले बताएको छ।

मध्यपहाडी लोकमार्गमा पर्ने विभिन्न भागमा आधुनिक सहर विकास गरी बसाइसराइँ रोक्ने उद्देश्यले सुरु गरिएको परियोजनाको प्रगति निराशाजनक रहेको एमालेले पाएको छ।

प्रकाशित: ९ पुस २०८० ००:४३ सोमबार

कुशासनले असन्तुष्टि समृद्धिका आधार निर्माण ठप्प ‘झुलाघाट–चिवाभन्ज्याङ: समृद्धिका लागि संकल्प यात्रा’ कास्की काभ्रे र दोलखामा वैकल्पिक बाटो प्रयोग