राजनीति

अधिवेशनको तयारी अन्तिम चरणमा

हेटौँडा (रासस)- प्रदेश नं ३ को प्रदेशसभाको प्रथम अधिवेशन भोलि बिहीबार दिनको १ बजेबाट हेटौंडाको सभागृहमा शुरु हुने भएको छ।
उक्त सभागृह अधिवेशनका लागि तयारी अन्तिम चरणमा पुगिसकेको प्रदेशसभा सचिवालयका अधिकृत विनोद पौडेलले जानकारी दिए।
अहिले उक्त सभागृहमा कुर्सी सजावट, माइक व्यवस्था, प्रदेश सभामुख रहने स्थान र सचिवालयका सचिवहरु बस्ने कार्यकक्ष तोकिसकिएको छ।
यसैबीच भोलिदेखि शुरु हुने प्रदेशसभाको अधिवेशनको प्रथम बैठकमा कार्यबाहक सभामुख डोरमणि पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले बोलाएको बैठकको पत्र, आन्तरिम कार्यविधिको प्रस्तावना र संवैधानिक रुपबाट सभामुखको निर्वाचन मिति तोक्ने विषयमा छलफल हुने प्रदेश सचिवालयका सहसचिव डा रोजनाथ पाण्डेले आज सञ्चारकर्मीलाई जानकारी दिए।
उनका अनुसार हाल अस्थायी रुपमा दललाई पहिलो, दोस्रो, तेस्रो र चौथोका रुपमा स्थान तोकिने कार्यतालिका रहेको र बिहीबार करिब १:३० बजे अधिवेशनको समय निर्धारण गरिएको बताए।

प्रदेशसभाका कूल ११० जना सदस्यका लागि बस्ने स्थान निर्धारण गरिएको, दर्शक ५० जना र सञ्चारकर्मीको लागि २५ स्थान छुट्टाइएको संसद् सचिवलायले जनाएको छ।

 

प्रकाशित: १७ माघ २०७४ ०८:४८ बुधबार

अधिवेशनको तयारी अन्तिम चरणमा