राजनीति

माओवादीले कब्जा गरेको जग्गा फिर्ता भएन

रुकुम – तत्कालिन नेकपा माओवादीले द्वन्द्वको समयमा कब्जा गरिएका जग्गा तथा सम्पत्ती फिर्ता गर्ने भनिएपनि यहाँ अझै फिर्ता हुन सकेको छैन्। साविकको खोलागाउँ गाविस–४ का गोपालप्रसाद शर्माको तत्कालीन नेकपा (माओवादी) ले कब्जा गरेको जग्गा फिर्ता हुन नसकेको हो।

विसं २०५८ सालमा आफ्ना नाममा रहेको कित्ता नंं ५८३ को एक हजार सातसय वर्गमिटर क्षेत्रफलको जग्गा तत्कालीन नेकपा (माओवादी)ले कब्जा गरेको शर्माले जानकारी दिए। उनले भने– ‘भएको जग्गामा एक्कासी माओवादी आएर कब्जा गरे’ उनले भने, ‘दिन नमान्दा नमान्दै धम्की दिएर जग्गा लिए ।’ उक्त जग्गा खोलागाउँका तत्कालिन जनसरकार प्रमुख श्यामलाल दमाइले भोगचलन गरिरहेको पीडित शर्माले बताए। अहिले पनि उनैले उक्त जग्गा प्रयोग गरि रहेको उनको भनाई छ। शान्ति स्थापना भएको १२ वर्ष पुग्नै लाग्दा पनि जग्गा फिर्ता नपाउनु दुःखद् भएको भन्दै उनले तत्काल जग्गा फिर्ता हुनु पर्ने बताएका छन्।

जग्गा फिर्ताको लागि उनले सत्य निरुपन तथा मेलमिलाप आयोगमा उजुरी समेत हालेका थिए। तर उक्त उजुरी बिचाराधिन अवस्थामा रहेपछि उनी झन निराश भएका छन् । ‘जग्गा पाउने आशमा उजुरी दर्ता गरे’ उनले भने, ‘उक्त उजुरीमाथि छानबिन पनि नहुँदा दुःख लागेको छ।’ द्वन्द्वको समयमा बिस्थापित भई खलंगा बस्दै आएका थिए। जग्गा फिर्ता गराइदिन गाविसको सिफारिस, जग्गाधनी लालपुर्जाकाका साथमा जिल्ला प्रशासन कार्यालय, स्थानीय शान्ति समितिलगायतका ठाउँमा पटक पटक निवेदन दिँदा पनि अझैसम्म जग्गा फिर्ता नभएको उनले दुःखेसो पोखे।

तत्कालीन नेकपा (माओवादी) ले शर्माको दुवै आँखामा तेजाब हालिदिएर दृष्टिविहीन बनाइदिएका थिए। दुवै आँखा गुमाएका उन अहिले पनि आफ्नी श्रीमतीको सहायतामा हिँड्डुल गरि रहेका छन्। तत्कालीन नेकपा (माओवादी) ले आफ्ना दुवै आँखाको दृष्टि गुमाइदिएको र कब्जा गरेको जग्गा अहिलेसम्म पनि फिर्ता नगरिदिएको शर्माले बताए। ‘केहिले जग्गा फिर्ता पाएका छन्’ उनले भने, ‘मेरो जग्गा किन फिर्ता भएन्।’

यता श्यामलाल दमाईले भने सबै कब्जा जग्गा फिर्ता भइसकेको बताए। ‘यहाँ धर्मवहादुर शाह, विरेन्द्र शाह, हरिवहादुर शाह लगाएतको जग्गा कब्जा भएका थिए’ उनले भने, ‘ती सबै जग्गा फिता भए।’ तर शर्माको भने कब्जा नभई किनबेच भएकाले फिर्ता नभएको उनको भनाई छ। ‘मैले उहाँ (गोपाल प्रसाद) का दाई नन्दकुमारवाट ५० हजार रुपयाँमा ऐलानी जग्गा किनेको हुँ’ उनले भने, ‘पछि शर्माले नापी र मालपोतका कर्मचारीको मिलोमतोमा जग्गा आफ्नो नाममा दर्ता गराएका रहेछन्।’ उक्त जग्गा जनसत्ताका बेला सहमतीमा किनबेच भएको श्यामलाले बताए।

चार लाख रुपयाँ लगाएर खोलाको तटबन्ध समेत निर्माण गरेको भन्दै श्यामलालले लगानी र पहिलाको मूल्य दिए जग्गा फिर्ता दिन तयार भएको बताए। शर्माले दुःख दिने गरेको उनको भनाई छ। यहि विषयमा जिल्ला प्रशासन कार्यालयमा पटक पटक छलफल भएपनि निकास ननिस्किएको बताइएको छ।

प्रकाशित: १६ माघ २०७४ १३:३२ मंगलबार

माओवादीले कब्जा गरेको जग्गा भएन