राजनीति

यी हुन् माओवादीका चारजना बलिया उम्मेदवार

दाङ – प्रदेश नम्बर ५ मा माओवादीका भागमा परेको सभामुखका लागि माओवादीबाट चार सांसद बलियो दाबेदारका रूपमा देखिएका छन् । यो प्रदेशमा एमालेले मुख्यमन्त्री लिने र माओवादीले सभामुख पद लिने वाम गठबन्धनको कार्यदलले सहमति गरिसकेको छ । मुख्मन्त्रीका लागि एमालेका शंकर पोखरेल अहिलेसम्म गठबन्धनका एक्लो उम्मेदवार  हुन् ।

माओवादीका एक नेताले प्रदेश सभामुखका लागि सम्भावित चारजनाबाट सभामुख चयन हुने बताए । उनका अनुसार सबै भन्दा बढी सम्भावना रोल्पाबाट निर्वाचित कुलप्रसाद केसीको देखिएको छ । यसअघि मुख्यमन्त्रीकै दाबेदारका रूपमा रहेका केसी नै माओवादीको भागमा परेको सभामुखमा चयन हुने ती नेताले वताए । त्यसो त, संगठन निर्माणमा कुशलतापूर्वक भूमिका निर्वाह गर्नसक्ने नेताका रूपमा चिनिएका केसीलाई नै माओवादीले सभामुख चयन गर्न सक्ने सम्भावना बढी देखिएको छ । तथापी केसीले भने अहिले वाम कार्यदलले प्रस्ताव मात्रै गरेकाले यस सम्बन्धमा निर्णायक मोडमा नपुगिएको बताए । ‘अहिले कसले मुख्यमन्त्री र कसले सभामुख पद लिने भन्ने विषय कार्यदलको प्रस्तावका रूपमा मात्रै आएको छ,’ उनले नागरिकसँग भने, ‘यसर्थ यस विषयमा अहिले नै हामीहरू निर्णायक घडीमा पुगिसकेका छैनांै ।’ उनले सभामुखका लागि अन्य सांसदको आकांक्षा रहेको पनि सुनाए।

यसैगरी प्यूठानका कृष्णध्वज खड्का सभामुखका अर्का सम्भावित सांसद हुन् । आफूलाई मुख्यमन्त्रीकै दाबेदारका रूपमा प्रस्तुत गरेका उनले पनि आफूलाई सभामुखका उम्मेदवारका रूपमा प्रस्तुत गर्न सक्ने देखिएको छ । यसैगरी पूर्वी रुकुमका पूर्णवहादुर घर्ती पनि सभामुखका सम्भावित उम्मेदवारका रूपमा रहेको माओवादी स्रोतले जनाएको छ । सभामुखमा पुरुष सांसद चयन भए यी तीन सांसदमध्येबाटै चयन हुने र महिला प्रतिनिधित्व गराउने पार्टीको निर्णय भए बाँकेकी कृष्णाकुमारी केसीलाई माओवादीले अघि सार्ने देखिएको छ । ‘महिलाको प्रतिनिधित्व गराएर जानुपर्ने अवस्थामा कृष्णाजी सभामुख बन्ने सम्भावना देखिएको छ,’ एक माओवादी नेताले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा चारजना नै सभामुखका लागि सम्भावित उम्मेदवारका रूपमा देखिनु भएको छ ।’ यो प्रदेशमा सभामुख पद पाएको माओवादीको सांसद संख्या २० रहेको छ भने मुख्यमन्त्री पाएको एमालेको सांसद संख्या ४१ रहेको छ । यसैगरी कांग्रेसका १९ जना छन् भने संघीयसमाजवादी फोरमका ५ र राजमो र राजपाका एक÷एकजना सांसद छन्।    

प्रकाशित: १६ माघ २०७४ ०२:५० मंगलबार

यी हुन् माओवादीका चारजना बलिया उम्मेदवार