राजनीति

राजसंस्था सहितको हिन्दु राष्ट्र र प्रदेश तह खारेजीको माग गर्दै आन्दोलन गर्ने राप्रपाको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था सहितको हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि देशभर आन्दोलन गर्ने निर्णय गरेको छ।

आईतवारबाट बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले पुष, माघमा देशभर सभा र तयारीका कामहरु गर्ने पनि निर्णय गरेको छ। फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ। त्यस्तै आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा केन्द्रिय आन्दोलन मुल समिति गठन गरेको छ।

डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति, पार्टीका कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको प्रचार तथा प्रसार समिति गठन गरेको छ। कोषाध्यक्षबाट प्रश्तुत आर्थिक प्रतिवेदन, सचिवालयका प्रतिवेदन लगायत प्रदेश कार्य समितिका प्रतिवेदनहरु परिमार्जनसहित पारित गर्ने निर्णय भएको पनि पार्टी अध्यक्ष लिङदेनले बताए। उनका अनुसार बैठकले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प प्रभावित परिवारहरुलाई तत्काल पालबाट अस्थायी आवासमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

उनले भने, ‘मुलुकको बिग्रदो अर्थतन्त्र, आम जनतामा बढ्दो निराशा, चरम बेरोजगारी, आर्थिक मन्दीका कारण साना किसान तथा उद्यमीहरूमाथिको बढ्दो ऋणभार, युवा शक्तिको विदेश पलायन, भष्ट्रचार लगायतका जनजीविकाका मुद्दाहरुका साथै राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि व्यापक जनदबाव सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरिएको छ। आन्दोलनको तयारीका लागि पुष, माघमा देशैभर व्यापक सभा तथा तयारीका कामहरु गरिनेछ। फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरिएको छ। आन्दोलनका लागि समान विचार राख्ने दलहरु, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यावसायी, विभिन्न पेशाकर्मीहरु, बुद्धिजीवी एवं देशभित्र र देशबाहिर रहनुभएका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सरिक हुन राप्रपा हार्दिक आव्हान गर्दछ। नवीन राप्रपा कार्ययोजनाका बाँकी कार्यहरु पनि आन्दोलनको अंगको रुपमा सम्पन्न गर्ने निर्णय गरिएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा केन्द्रिय आन्दोलन मुल समिति गठन गरिएको छ र सो समितिमा केन्द्रिय कार्य समितिका सबै पदाधिकारी, केन्द्रिय सदस्यहरु तथा आमन्त्रित केन्द्रिय सदस्यहरु रहनेछन्।'

प्रकाशित: ३ पुस २०८० ११:२० मंगलबार

राष्ट्रिय प्रजातन्त्र पार्टी