राजनीति

‘सरकार गठन र पार्टी एकता हुन नदिन षड्यन्त्र’

भक्तपुर – नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले वाम गठबन्धनको सरकार बन्न र पार्टी एकता हुन नदिन अझै पनि षड्यन्त्र भइरहेको बताएका छन्।

अनेरास्ववियु भक्तपुरको १८ औँ सम्मेलनका क्रममा उनले यस्ताखाले षड्यन्त्रलाई चिर्दै आगामी फागुन पहिलो सातासम्म नयाँ सरकार गठन र पार्टी एकता गर्न कसैले रोक्न नसक्ने बताए।

कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतले अबको १० वर्षमा युवालाई रोजगारीका लागि खाडी मुलुक जानुपर्ने अवस्था नआउने जिकिर गरे।

एमालेका केन्द्रीय सदस्य सोम मिश्र, प्रदेशसभामा नवनिर्वाचित सदस्य शशीजंग थापा, अनेरास्ववियु भक्तपुर इन्चार्ज राजन केसी, अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष शैलेश लामालगायतले देशको परिवर्तनमा विद्यार्थीले पु-याएको योगदानको चर्चा गरेका थिए।

शनिबारसम्म चल्ने ८४ प्रतिनिधिको उपस्थिति रहेको सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने अनेरास्ववियु भक्तपुरका संयोजक जयराम बास्तोलाले जानकारी दिए।

प्रकाशित: १२ माघ २०७४ १५:०० शुक्रबार

सरकार गठन पार्टी एकता हुन नदिन षड्यन्त्र