राजनीति

पोखरा पुगेर ओलीले भने : सरकार देशलाई कंगाल बनाउँदैछ

पोखरा- बाहिरिनै लागेको सरकारले मनपरि खर्च गरेर देशलाई कंगाल बनाउन थालेको एमालेले आरोप लगाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पोखरामा देश नै कंगाल बनाउने गरि राज्यले आर्थिक क्षेत्रमा अनैतिक निर्णय गरेको बताए।

कुनै दल वा गठबन्धन मन परेन भनेर देश नै कंगाल बनाउने र राज्यको ढुकुटी नै रित्याउने गरि अहिलेको सरकारले आर्थिक भार थोपरेको उनको भनाई छ । ‘अब बन्ने सरकारले चलाउनै नसक्ने गरि, अर्थतन्त्र धान्नै नसक्ने गरि अहिले निर्णय गरिरहेको छ,’ सामुदायिक रेडियो प्रशारक संघ (एकोराब)को पोखरामा शुक्रबार सुरु राष्ट्रिय सम्मेलनमा बोल्दै ओलीले भने, ‘सरकारले गरेका यस्ता निर्णय अस्वीकार हुन्छन् । यस्ता निर्णय अनुचित र अनैतिक छन्, ती स्वीकार्य हुँदैनन्।’

ओलीले सरकारले यतिबेला गर्नैपर्ने दैनिक काम मात्र गर्नुपर्ने बताए । संविधान कार्यन्वयनमा अप्ठेरो परेको ठाउँमा दैनिक काम चलाउने मात्र सरकारलाई दायित्व रहेको उनले बताए । ‘सरकारले दैनिक काम मात्र गर्ने हो । पद सिर्जना गर्ने र कर्मचारीलाई विदेश भ्रमण गर्न पठाउने होईन,’ उनले भने।

अहिलेको सरकारले एकहजार कर्मचारीलाई यतिबेला विदेश सयर गर्न पठाउन थालेको भन्दै ओलीले आपत्ति जनाए । ‘विदेश भ्रमणमा जान थालेको एउटा टिमले ७५ लाख रुपैयाँका दरले खर्च गर्दैछ,’ उनले भने, ‘राज्यको एउटा निर्णयले अर्बौंको भार थोपरिन्छ ।’ उनले सरकारले गरेको निर्णयले ९० अर्ब रुपैयाँ राज्यलाई व्यभार पर्न थालेको उनले बताए । ‘९० अर्ब रुपैयाँ एकपटकका लागि मात्र होईन सधैंका लागि राज्यलाई भार बोकाइँदैछ,’ उनले भने ।

भूकम्प पीडितलाई पहिलो किस्ता नदिएको अवस्थामा पुन १–१ लाख रुपैयाँ थपिँदा ७७ अर्ब जति व्यभार पर्ने उनले बताए । ‘१ सय ३ अर्ब रुपैयाँ संचीत कोषमा छ भनेर राज्यले बजेट बनाएको थियो। अहिले महालेखाले १ सय ३ अर्बको विवरण भुटो भनेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा आउने सरकारले कसरी काम चलाउन सक्छ?’

संघीयतामा गएपछि कर्मचारी अझ अभाव भईरहेको बेला मोटो रकम दिएर स्वेच्छिक अवकाशमा कर्मचारीलाई घर पठाउने तयारी भईरहँदा आर्थिक भार सहित कर्मचारी अभाव हुने उनले बताए। ‘संघीयतामा मुलुक जाँदा करिब ८०–८५ हजारजति नयाँ कर्मचारी आवश्यक पर्छ। तर, अहिलेको सरकारले एकथरी कर्मचारीलाई यही बेला मोटो रकम दिएर घर पठाउने तयारी गरेको छ,’ ओलीले भने, ‘कर्मचारीलाई घर पठाउँदा ६० अर्ब रुपैयाँ भार थपिन्छ । भएका कर्मचारीलाई मोटो रकम दिएर घर पठाउने, अनि अर्को ठूलो व्यभारका साथ नयाँ कर्मचारी भर्ना गर्ने तयारी छ।’

अनुभव नभएका नयाँ कर्मचारी भित्र्याउने, अनुभवीलाई ६० अर्ब रुपैयाँ दिएर घर पठाउने गरि भार थपिएको भन्दै उनले आपत्ति जनाए । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पनि अहिलेको सरकारले नैतिकताका आधारमा कुनैपनि निर्णय गर्न नमिल्ने बताए । कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपालमा राजनीतिक दलहरुसँग सहकार्य गर्न तयार रहेको बताए । अहिलेसम्म सहकार्यले अघि बढेको राजनीति अब पनि नटुट्ने उनले बताए । उनले दलबीचको दुस्मनीको पर्खाल अब हट्नुपर्ने बताए । उनले कांग्रेस सत्ता हस्तान्तरण गर्न तयार रहेको पनि बताए । पोखरामा दुईदिनसम्म चल्ने सम्मेलनमा करिब ३ सय सामुदायिक रेडियोका संचालन र प्रतिनिधि सहभागि छन्।

 

प्रकाशित: १२ माघ २०७४ १३:५० शुक्रबार

पोखरा पुगेर ओलीले भने सरकार देशलाई कंगाल बनाउँदैछ