राजनीति

देउवालाई ओलीको प्रश्नः एआईजी छिमेकी नै हुनुपर्छ ?

 काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने सरकारी तयारीप्रति विरोध जनाएका छन्। विहीबार आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सेवाअवधि हटाएर प्रधानमन्त्रीका छिमेकी (सुदूरपश्चिम)का प्रहरी अधिकृतलाई आइजीपी बनाउने उद्देश्यले संघीय प्रहरी ऐन ल्याउने सरकारको तयारीको विरोध गरेका हुन्।

आइजीपी प्रकाश अर्याल, एआईजी जयबहादुर चन्द, विजय भट्टहरुको दबाबमा गृहमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ३० वर्षे सेवाअवधि हटाएर संघीय प्रहरी ऐन ल्याउने तयारी गरेको समाचार आज नागरिक दैनिकले प्रकाशित गरेको थियो। उक्त समाचार प्रकाशित भएपछि अपराह्न आयोजित पत्रकार सम्मेलनमा ओलीले एआईजी छिमेककै हुनुपर्छ भनी प्रश्न गरे। ‘सबै उतैको हुनुपर्ने ? अनावश्यक रुपमा एआईजीको दरबन्दी थपेको छ। यो अनुचित कार्य हो,’ ओलीले भने। प्रहरीमा ३० वर्षे सेवाअवधि हटाए वर्तमान आइजीपी अर्यालसहित १३ वटै एआईजीको पदावधि २ वर्ष बढ्नेछ।

प्रहरी संगठनमा उमेर थप गर्न खोज्नु स्वार्थ समूहको प्रभावमा भएको उनको भनाई छ। यस्तो निर्णयले प्रहरी संगठनको संरचना लाई प्रभावित पार्ने एमालेले जनाएको छ।

 

प्रकाशित: ११ माघ २०७४ ११:५४ बिहीबार

देउवालाई ओलीको प्रश्नः एआईजी छिमेकी नै हुनुपर्छ