राजनीति

एक लाख अनुदान थपले भूकम्प पीडितमा खुसी

सरकारको अनुदानमा घर बनाउँदै भूकम्प पीडित। तस्बिर: सरिता

धादिङ- घरको जग हालेर दोस्रो किस्ताका लागि निवेदन दिएका सिद्धलेक गाउँपालिका ५, चापखोलाका सीता गुरुङ घर बनाउन सरकारले अनुदान थप गरिदिएपछि खुसी भएकी छन्। पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएर घर बनाउन थालेका सीताले निर्माण सामग्री महंङगीएकाले घर बनाउन नसकेको बताइन्। ‘घर निर्माणका लागि आवश्यक रड, बालुवा लगायतका निर्माण सामग्रीको मूल्य बढेको छ’ सीताले भनिन् ‘सरकारले एक लाख अनुदान थप गरिदिएकोमा खुसी छु।’ अब घर निर्माणमा थप सहज हुने उनको भनाई छ। सीताले पहिलो किस्ताको रकम पाएर घर बनाउन सुरु गरेकी छन्। दोस्रो किस्ताको अनुदानका लागि फाराम भरेका छन्।

गाउँमा निर्माण सामग्री (ढुङगा, गिटी, वालुवा, सिमेन्ट, काठ) को अभाव देखिएकाले कतिपयले घरको जग मात्रै हालेर छाडेका छन्। ‘दक्ष डकर्मी कामदार खोजेका बेला पाइदैनन्। पाइहाले पनि ज्याला महंगो पर्छ’, सीताले भनिन्, ‘एक दिनको ज्याला कम्तिमा पन्ध्र सय रुपैंयाभन्दा माथि छ। भूकम्पपछि कामदारको ज्याला आफूखुसी बढेको हो।’ सामग्री ढुवानी गर्ने ट्याक्टर तथा ट्रक भाडा महंगो रहेको भूकम्प पीडितहरु गुनासो गर्छन्। सरकारले पनि किस्ता किस्ता छुट्टाएर रकम दिएकोले पनि घर बनाउने कार्य लम्बिएको पीडितहरु बताउँछन्।

गजुरी गाउँपालिका वडा नं ७ किरान्चोकका भूकम्प पीडितहरुले अनुदान रकम लिएर पनि घर बनाउन हतार गरेका छैनन् । बर्खा लागेपछि हिउँदमा घर बनाउन सुरु गर्ने त हिउँद लागेपछि बर्खा पछि घर बनाउने भाका सार्दै भूकम्प पीडित टहरोमा बसिरहेका छन्। कतिपयले पहिलो किस्ता बापतको रकम लिएर घरको पिल्लर ठडाएका छन् भने कोहीले घर बनाउने सुरै कसेका छैनन्, कोहीले घर पूरा गरेर बस्न थालिसकेका छन् । गजुरी ८ कटुञ्जेका सावित्रि ढुङगानाले सरकारले दिएको अनुदानबाट घर ठड्याएकी छन् । सरकारले दिएको अनुदान भन्दा बढी लगाएर घर बनाएको सावित्रिले बताइन्। अनुदान भन्दा दोब्बर खर्च भएको छ सावित्रिले भनिन्, ‘सधै टहरामा बसेर जीवन चल्दैन जति खर्च लागेपनि ऋण काटेर घर बनाइयो।’

जिल्लाभर ७३ हजार ३ सय १० लाभग्राहीको संख्या रहेकोमा पहिलो किस्ता लिनेको संख्या ६७ हजार २ सय २६ रहेका छन्। १७ हजार ५ सय ८१ जनाले दोस्रो किस्ता बापतको रकम लिएका छन्। सम्झौता गरेर घर निर्माण सम्पन्न गरेकाको संख्या भने ३ हजार ८ सय १२ जना मात्रै रहेको शहरी विकास तथा भवन डिभिजन कार्यालय धादिङले जानकारी दिएको छ। सरकारले पुस मसान्तसम्ममा घर निर्माणका लागि समयसीमा तोकेको थियो।

नीलकण्ठ नगरपालिका १२ की भगवती लंम्सालले पनि पहिलो किस्ताको रकम लिएर बसेको दुई वर्ष भयो। सरकारले दिने भनिएको रकमले घर नबन्ने देखेपछि टहरामा नै हिउँद, बर्खा कटाइरहेका छन्। सरकारले थप रकम दिने भनेकै भोलिपल्टबाट घरको जग हाल्न सुरु गरेका छन्। निर्माण सामग्रीको महंगीका कारण घर बनाउन पट्टी ध्यानै गएको थिएन भगवतीले भनिन्, ‘अब त जसोतसो ओत लाग्ने घरको बन्दोबस्त मिलाउनु छ।’ सरकारले थप अनुदान दिने निर्णय गरेपछि उनी मात्र होइन भूकम्प पीडितहरुको खुसीको सिमै छैन। अब एक मुष्ट रकम उपलब्ध गराइदिने व्यवस्था मिलाइदिन उनले आग्रह गरिन्।

मन्त्रिपरिषदको बैठकले बुधबार मात्रै भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको अनुदान रकम बढाउने निर्णय गरेको थियो । भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको हो। यसअघि भूकम्प पीडितलाई अनुदान स्वरुप ३ लाख रुपैयाँ दिँदै आइरहेको थियो।

 

 

 

प्रकाशित: ११ माघ २०७४ ०९:१७ बिहीबार

अनुदान थपले भूकम्प पीडितमा