राजनीति

राजपामा दलित, मुस्लिम, आदिवासी, जनजाति ‘बाइपास’

काठमाडौं –दलित, उत्पीडत र उपेक्षित समुदायको अधिकारका लागि लडेको भनिएको  राष्ट्रिय जनता पार्टी नेपालमा दलित, जनजाति र मुस्लिम समुदायका नेता पार्टीभित्रै  उपेक्षित भएका छन्।

राजपाले प्रदेशसभा समानुपातिकमा १० जनाको नाम सिफारिस गर्दा एकजना पनि दलित, जनजाति, मुस्लिम आदिवासी समुदायका  परेनन्  । यसैगरी राष्ट्रियसभाका लागि पार्टीले छानेका उम्मेदवारमध्ये एकजना पनि दलित आदिवासी, मुस्लिम समुदायभित्रका परेका छैनन् । यसबाट राजपाका दलिल, मुस्लिम, आदिवासी र जनजाति समुदयाका नेताहरू पार्टी नेतृत्वसँग आक्रोशित भएका छन्।

पार्टीले  प्रतिनिधिसभा तथा प्रदेशसभा समानुपातिकका लागि निर्वाचन आयोगमा पठाएको सूचीमै  दलित, जनजाति, मुस्लिम समुदायका व्यक्तिलाई विभेद गरिएको भन्दै  पार्टीका दतिल तथा जननजाति नेताहरू पार्टी नेतृत्वसँग आक्रोशित भएका छन्।  राजपाका सहमहामन्त्री रामप्रवेश बैठाले राजपामा दलित, आदिवासी, जनजाति, मुस्लिम सुमयदालाई पूरै उपेक्षा गरिएको गुनासा गरे । उनले भने, ‘पार्टीका नेताहरूले दलित, उत्पीडित, आदिवासी र जनजातिको अधिकारका लागि लडेका छांै भन्छन् तर व्यवहारमा एकजनालाई पनि अवसर दिन्नन् । यसमा उनीहरूको  द्वैध चरित्र देखियो ।’ पार्टीमा आफूहरूलाई यसरी नै अपमानित गर्दै जाने हो भने पार्टीमा अपमान सहेर नबस्ने पनि उनले बताए । उनले भने, ‘यसरी अपमान सहेर कति दिन बस्ने ? केही दिन हेर्छु । त्यसपछि एउटा निर्णय गर्छु ।’ राजपाले प्रदेशसभा समानुपातिको लागि बैठाको नाम निर्वाचन आयोगमा पठाएको थियो। तर आयोगले क्रमसंख्या अनुसार नाम नमिलेको भन्दै बैठालगायत ४ जनाको  नाम काट्न लगाएको थियो । राजपाले आयोगमा नाम बुझाउँदा नै पार्टीका नेताहरूले दलित, आदिवासी, जनजाति र मुस्लिम समुदयालाई उपेक्षा गरेको उनले गुनासो गरे । उनले भने, ‘निर्वाचन आयोमा नाम पठाउँदा नै झेली भएको छ । हाम्रो नामलाई पछाडि राखियो । अहिले आयोगलाई दोष देखाउने काम भएको छ।’
राष्ट्रियसभा निर्वाचनका लागि राजपाले विर्खेशचन्द्र लाल र रमेश यादको नाम छानेको छ । अल्पसंख्यकको तर्फबाट लालको नाम सिफारिस भएको छ  ।  यादव पार्टीको उपाध्यक्ष हुन् । राजपा गठन हुनुअघि उनी  यादव महेन्द्र यादवले नेतृत्व गरेको तराईमधेस सद्भावना पार्टीका उपाध्यक्ष थिए । राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवलको सिफारिसमा राष्ट्रियसभा उम्मेदवारमा छानिएको स्रोतको भनाइ छ । लाल भने राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको सिफारिसमा छानिएका थिए  । उनी पार्टीका वरिष्ठ उपाध्यक्ष हुन्  । उनी पार्टीभित्रका बुद्धिजीवि मानिन्छन्।

राजपाबाट प्रदेशसभा समानुपातिकमा रामनरेश राय, डिम्पल  झा, जानकीशरण साह, नेत्रविक्रम साह, वविता चौधरी, निलमदेवी भुहिर्नी छानिएका छन् । यसैगरी अञ्जु यादव, निरा साह, अल्का झा र रिना साह प्रदेशसभा समानुपातिकमा छानिएका छन् । समानुपातिकबाट सिफारिस गरिएका १० मध्ये डिम्पल झा अनिल झाकी पत्नी हुन् भने निरा साह प्रतिनिधिसभा सांसद प्रमोद साहकी पत्नी हुन् ।  प्रदेशसभा समानुपातिकमा राजपाले १० जनाको नाम पठाउँदा एकजना पनि अल्पसंख्यक  समुदायबाट नाम नपरेको पार्टीका एक नेता गुनासो गर्छन् । सहिद परिवारको कोटबाट पठाइएकी बबिता चौधरी  आदिवासी कोटामा  पर्दिनन्।

संघीय फोरममा श्रेष्ठको सम्भावना बढ्यो
संघीय समाजवादी फोरममा प्रतिनिधिसभा समानुपातिकमा पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको सम्भावना बढेको छ । फोरमले राष्ट्रियसभामा दुई उम्मेदवारमध्ये एक महिला पठाएपछि  प्रतिनिधिसभा समानुपातिका एक पुरुष पठाउन सक्ने  सम्भावना रहेको पार्टीका नेताहरू बताउँछन् । संघीय फोरमले राष्ट्रियसभा सदस्यका लागि प्रमिला यादव  र रामप्रित पासवानको नाम छानेको छ । रामप्रित पासवान दलित समुदायका हुन्।

प्रतिनिधिसभा समानुपातिकमा संघीय फोरमले ६  सिट पाएको छ । यस मध्ये ५  महिला र एक पुरुषलाई  पठाउन सकिने  फोरमका नेताहरू बताउँछन् । पुरूषतर्फ एकजनाको नाम पठाउदा पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाम पर्ने सम्भावना रहेको स्रोतको भनाइ छ । पुरुषतर्फ संघीय फोरमले निर्वाचन आयोगमा रत्नेश्वरलाल कायस्थको नाम एक नम्बरमा र दुई नम्बरमा राजेन्द्र श्रेष्ठको नाम पठाएको थियो । रत्नेश्वर प्रदेश प्रमुख भइसकेका कारण अब रोलक्रममा श्रेष्ठको सम्भावना रहेको स्रोतको भनाइ छ । संघीय फोरमले प्रतिनिधिसभा समानुपातिकमा ५  महिलाको नाम पठाउँदा अशोक राइकी पत्नी सुशिला श्रेष्ठको सम्भावना घटेको पार्टीका नेताहरू बताउँछन् । संघीय फोरमले निर्वाचन आयोगमा पठाएको सूचीमा सुशिला श्रेष्ठ भन्दा अगाडि रेणुका गुरूङको नाम अगाडि भएकाले गुरूङको सम्भावना बढेको स्रोतको भनाइ छ।

प्रकाशित: ११ माघ २०७४ ०२:२९ बिहीबार

राजपामा दलित मुस्लिम आदिवासी जनजाति बाइपास