राजनीति

प्रधानसेनापतिले भेटे श्रीलङ्काका राष्ट्रपति

काठमाडौं – प्रधानसेनापति राजेन्द्र क्षत्रीले श्रीलङ्काका राष्ट्रपति मैत्रीपला सिरिसेनासँग भेटवार्ता गरेका छन्। श्रीलंकाका सेना प्रमुखको निमन्त्रणमा श्रीलंका भ्रमणका लागि कोलम्बोमा रहेका क्षत्रीले शुक्रबार राष्ट्रपति सिरिसेनासँग भेट गरेका हुन्।

भेटमा द्धिपक्षीय हित, पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधानसेनापति क्षत्रीले शुक्रबारै श्रीलंकाका जल सेना प्रमुख श्रीमेभन शरथचन्द्र रनासिंङ्गेसँग जलसेना मुख्यालयमा भेटवार्ता गरेका थिए।

उनले माघ ४ गते स्थल सेना प्रमुख जनरल महेश सेनानायके र हवाई सेना प्रमुख कपिला जयाम्पथ्यसँग सम्बन्धित मुख्यालयमा भेटवार्ता गरेको निर्देशनालयले जनाएको छ। भ्रमणकै क्रममा प्रधानसेनापति क्षत्रीले श्रीलङ्का सेनाको महत्वपूर्ण सैनिक संरचनाहरुको समेत भ्रमण गरेका छन्।

माघ ३ गते श्रीलंका प्रस्थान गरेका प्रधानसेनापति क्षत्री भ्रमण सकेर ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम  छ।

प्रकाशित: ७ माघ २०७४ १४:२२ आइतबार

प्रधानसेनापतिले भेटे श्रीलङ्काका राष्ट्रपति