राजनीति

काँग्रेसकै नेताहरू सरकारको काममा सन्तुष्ट छैनन्: अध्यक्ष ओली

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरू आजित भएको दाबी गरेका छन्।

बिहीबार  संकल्प यात्राका क्रममा भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन। 

अध्यक्ष ओलीले सत्तामा रहेका काँग्रेसका नेताहरू नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको जिकिर गरे। 

उनले काँग्रेसका नेताहरू अहिले नै वि.सं. २०८४ मा हुने प्रत्यक्ष निर्वाचन पर्खिन नसक्ने भनिरहेको उल्लेख गरे। अध्यक्ष ओलीले मिसन ८४ जनताको र हरेक नेपालीको मिसन भएको बताए। 

उनले देशमा सुशासन र विकासको पक्षमा कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने बताए।

अध्यक्ष ओलीले भने, ‘नेपाली काँग्रेसकै नेताहरू पनि यो सरकारसँग आजित भइसकेका छन्। राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर। सबैमा चिन्ता छाएको छ। तसर्थ हामीले अब समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि अन्ततोगत्वा पनि मिसन ०८४ लाई सफल पार्नै पर्छ।’ 

उनले दिनदिनै देश ओरालो लागिरहेको दाबी पनि गरे। 

प्रकाशित: २८ मंसिर २०८० ०६:१८ बिहीबार

भोजपुर नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ दल नेपाली काँग्रेस महाकाली—मेची अभियान