राजनीति

काँग्रेस इतर समूहका नेताहरू भन्छन्: चुनाव हारेकालाई राष्ट्रिय सभामा नल्याऔँ

नेपाली काँग्रेसको संस्थापन इतर पक्षको बैठक

नेपाली काँग्रेसको संस्थापन इतर पक्षले बोलाएको बैठकमा सहभागी भएका अधिकांश नेताहरूले पार्टीबाट पटक पटक अवसर पाएका, समानुपातिकको सूचिमा परेका तथा गत प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका नेताहरूलाई यही माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा लैजान नहुने तर्क राखेका छन्।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको  निर्वाचनमा हारेका कृष्णप्रसाद सिटौला र समानुपातिकको सूचिमा परेका गोपाल श्रेष्ठलाई राष्ट्रिय सभामा ल्याउने चर्चा भइरहेको बेला इतर पक्षका नेताहरूले नयाँ अनुहार र अवसर नपाएका व्यक्तिलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउनु पर्ने धारणा राखेका छन्। यसको लागि एउटा मापदण्ड बनाउनु पर्ने उनको भनाइ थियो।

बैठकमा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय सभाको निर्वाचनमा पटक पटक अवसर पाएका अनुहारलाई छाडेर नयाँ अनुहारलाई  प्राथमिकता दिनु पर्ने बताए। राष्ट्रिय सभाको उम्मेदवार हुन चुनावमा हारेका र समानुपातिकको सूचिमा परेका व्यक्तिहरूको बिचमै प्रतिस्पर्धा चलेको उनले चर्चा गरे। उनले भने, ‘अब नयाँ अनुहारलाई पार्टीले मौका दिनु पर्छ।’ यही माघ ११ गते १९ सिटको लागि राष्ट्रिय सभाको निर्वाचन हुँदै छ।

बैठकमा सहभागी नेताहरूले तोकिएको मितिमा महासमितिको बैठक गर्न नेतृत्वलाई दाबा दिएका थिए। बैठकमा बोल्दै गुरुङले तोकिएको मितिमा महासमितिको बैठक गर्नु पर्ने धारणा राखे। यही पुस १६ देखि १९ गतेसम्म काँग्रेसले काठमाडौँमा महासमितिको बैठक बोलाएको छ। काँग्रेस सभापति देउवाले जाडोको बेला महासमितिको बैठक गर्न उपयुक्त नहुने भन्ने धारणा राखे पछि बैठकबारेमा अन्योल उत्पन्न भएको छ।

इतर पक्षको बैठकमा बोल्ने नेताहरूमध्ये अधिकांशले तोकिएको मितिमा महासमितिको बैठक हुनु पर्ने र राष्ट्रिय सभाको बैठकमा नयाँ अनुहारलाई प्राथमिकता दिनु पर्ने धारणा राखेका थिए।

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले राष्ट्रिय सभाको निर्वाचनमा हिजो चुनावमा हारेका र समानुपातिक सूचिमा बसेका व्यक्तिहरूलाई राष्ट्रिय सभाको निर्वाचनमा अवसर दिने कि नदिने भन्ने विषयमा छलफल गर्नु पर्ने  र यो विषयमा एउटा निश्चित मापदण्ड बनाउनु पर्ने बताए। भागबन्डाको नाममा जस जसलाई जुन व्यक्ति मन पर्छ, त्यही त्यही व्यक्तिलाई ल्याउन नहुने उनको भनाइ छ।

अर्का नेता सुनिल शर्माले गत निर्वाचनमा टिकट पाएर पनि चुनाव हारेका व्यक्तिहरूलाई त राष्ट्रिय सभाको निर्वाचनमा टिकट दिनै नहुने धारणा राखेका थिए । गाउँमा बसेका र अवसर नपाएका व्यक्तिहरूलाई राष्ट्रिय सभामा अवसर दिनु पर्ने उनको भनाइ थियो।

प्रकाशित: २७ मंसिर २०८० १२:०२ बुधबार

काँग्रेस इतर समूह