राजनीति

मलाई राष्ट्रपतिमा पठाए राष्ट्रकै लागि महत्वपूर्ण हुनेछः नेता खनाल

काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आफू राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका छन्। रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै नेता खनालले आफू राष्ट्रपति बने देशकै लागि फाइदा हुने टिप्पणी गरे।

लामो संघर्षमय जीवन भएको, लोकतान्त्रिक आन्दोलनमा लामो योगदान भएको र राष्ट्रको महत्वपूर्ण नेतृत्व पंक्तिमा बसेर काम गरेको व्यक्तिलाई राष्ट्रपति जस्तो गरिमामय पदमा पठायो भने राष्ट्रकै निम्ति महत्वपूर्ण हुने भन्दै उनले भने– ‘पार्टीले दिने जिम्मेवारीलाई दृढतापूर्वक पालना गर्छु, जे जिम्मेवारी दिए पनि पालना गर्न सक्छु, जिम्मेवारी मबाट शिरोधार्य हुनेछ।’

यस्तै, नेता खनालले प्रदेशको अस्थायी मुकामको विषयलाई लिएर अहिले विवाद, बखेडा झिकेर आन्दोलन गर्नु उपयुक्त नहुने बताए। उनले भने– ‘अस्थायी राजधानी स्थायी रहँदैनन्। प्रदेशले यो बारेमा आफैँले निर्णय गर्नेछ, यद्यपि प्रदेशको राजधानी तोक्नेबारेमा सरकारले भने राम्रो ढंगले बुद्धि पु¥याएन।’

प्रदेश प्रमुख वर्तमान सरकारले नै नियुक्ति गर्ने र नियुक्ति गरिएको विषयलाई हामीले कुनै आश्चर्य र अनौठो ढंगबाट नलिएको भन्दै उनले थपे– ‘अब प्रदेशको प्रक्रिया अघि बढ्छ, उहाँहरुको काम र क्रियाकलापलाई हेर्दै प्रदेश प्रमुखहरु पदमा कति रहन्छन् वा रहन्नन् भन्ने कुरा आगामी सरकारले निर्णय गर्नेछ,’ उनले भने।

आगामी फागुनको दोस्रो साता एमालेको नेतृत्वमा गठन हुने सरकारले लोकतन्त्रलाई संस्थागत गर्ने, व्यापक गर्ने र जनजनमा -याएर दिगो बनाउने, मुलुकको सार्वभौमसत्ता र अखण्डताको सुदृढीकरण गर्ने, सामाजिक आर्थिक रुपान्तरणलाई तीव्र तुल्याउने, विविधतायुक्त वैभवलाई विकास गरी समृद्ध गर्ने र अन्तरराष्ट्रिय जगत्सँगको सम्बन्धलाई सुदृढ तुल्याउने कामलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाई छ।

मुलुकबाट बेरोजगारी, गरिबी, अविकास, रोगब्याधी, निरक्षरतालाई उन्मूलन गर्नु आगामी सरकारका लागि अवसर र चुनौती रहेको बताउँदै वरिष्ठ नेता खनालले समृद्ध र खुशी नेपालको लक्ष्य हासिल गर्ने ढंगले आगामी सरकारले काम गर्ने विश्वास व्यक्त गरे। रासस

प्रकाशित: ६ माघ २०७४ १३:३८ शनिबार

मलाई राष्ट्रपतिमा पठाए राष्ट्रकै लागि हुनेछः नेता खनाल