राजनीति

राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश

लहान –  नेकपा एमाले २ नं प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि सो प्रदेशबाट ५५ जनाको नाम सिफारिश गरेको छ। 

एमाले प्रदेश संगठन समितिको राजविराजमा शुक्रबार सम्पन्न बैठकले प्रदेश नं २ बाट निर्वाचित हुने आठ राष्ट्रियसभा सदस्यका लागि ती नाम सिफारिश गर्ने निर्णय गरेको एमाले २ नं प्रदेश संयोजक एवं स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए। सोअनुसार सिरहाबाट रामचन्द्र यादव, जया घिमिरेसहित १३, सप्तरीबाट सुमनराज प्याकुरेल, धनुषाबाट रत्नेश्वर गोइत, यदुवंश झा, भोला साहसहित १२, पर्साबाट प्रभु हजरा र निर्मला देवकोटासहित ११ जनाको नाम सिफारिश गर्ने निर्णय भएको छ। 

यसैगरी रौतहटबाट रोहित पासवान, बिना साहसहित पाँच, सर्लाहीबाट कमलादेवी महतो, रेवती पन्त, सुरेन्द्र लामासहित पाँच, बाराबाट दिनेशकुमार राय, पुरुषोत्तम पौडेलसहित चार र महोत्तरीबाट रामदयाल मण्डलसहित चार जनाको नाम सिफारिश भएको छ। सिफारिश गरिएकाबाट एमालेले छनोट गरी एमाले र माओवादी केन्द्रको कार्यदल बैठकले अन्तिम रुप दिने बताइएको छ। 

हरेक प्रदेशबाट तीन महिला, तीन अन्य, एक दलित र अपांग वा अल्पसंख्यकबाट एक जना निर्वाचित हुनेछन्। यसैगरी राष्ट्रियसभा निर्वाचनको तयारीका लागि माओवादीसँग समन्वय गरी प्रदेश नं २ मा मतदाताबीच भेला राखिने निर्णय भएको एमाले प्रदेश सहसंयोजक नागेन्द्र चौधरीले जानकारी दिए। 

सोअनुसार सर्लाही, धनुषा र महोत्तरीका मतदाताको भेला यही माघ ११ गते जनकपुर, बारा, पर्सा र रौतहटको माघ १२ गते बारा तथा सप्तरी र सिरहाको माघ १३ गते लहानमा भेला गरिने बताइएको छ। 

प्रकाशित: ६ माघ २०७४ ०४:३९ शनिबार

राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश