राजनीति

मधेशवादी दल एउटै बन्नुपर्छ : यादव

लहान – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डल सदस्य राजकिशोर यादवले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन गरेका मधेशवादी दल एउटै बनाएर अघि बढ्नुपर्ने बताएका छन्।

मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको स्मृतिमा शुक्रबार लहानमा आयोजित ११औँ बलिदानी दिवसका अवसरमा यादवले चुनावका बेला चुनावी तालमेल गरेका राजपा र संघीय समाजवादी फोरम नेपाल अब फरक फरक झण्डामा नभई एउटै झण्डामुनि गोलबद्ध हुनुपर्ने बताए। प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य यादवले अब पनि संविधान संशोधन गर्न ढिलाइ गरिए आफूहरु पुनः आन्दोलन चर्काउन बाध्य हुने चेतावनी दिए।

कार्यक्रममा राजपाका सहमहामन्त्री तथा प्रदेशसभामा नवनिर्वाचित सदस्य सुरेशकुमार मण्डलले शहीद दिवस र पृथ्वीजयन्तीमा सरकारले सार्वजनिक बिदा दिए पनि मधेश बलिदानी दिवसमा बिदा नदिएर सरकारले मधेशी शहीदको बलिदानको अवमूल्यन गरेको आरोप लगाए। समाजवादी फोरमका नेता राजलाल यादवले अब बन्ने सरकारले मधेशी शहीदप्रति सम्मान हुने गरी ठोस योजना ल्याउनुपर्ने बताए।

प्रकाशित: ५ माघ २०७४ १६:२५ शुक्रबार

मधेशवादी दल एउटै बन्नुपर्छ यादव