राजनीति

दाङमा देउवा, महरा र पोखरेलको पुत्ला जलाईयो

दाङ – पाँच नम्बर प्रदेशको माग गर्दै बुधबारदेखि अनिश्चित बन्द गरेर यहाँ थालिएको आन्दोलन झनपछि झन उत्तेजित बन्दै गएको छ।

तेस्रो दिनको आन्दोलनका क्रममा शुक्रबार यहाँ प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी नेता तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य कृष्णवहादुर महरा र दाङ क्षेत्र नम्बर २ प्रदेशसभा १ बाट निर्वाचित एमाले नेता शंकर पोखरेलको पुत्ला जलार्ईएको छ। आन्दोलनकारीहरुले जिल्लाका विभिन्न स्थानमा पुत्ला जलाएका छन्।

प्रधानमन्त्री देउवाले गलत निर्णय गरेको र चुनावका बेला राजधानी ल्याउने भनेर मतदातालाई झुक्याएको भन्दै आक्रोशित आन्दोलनकारीहरुले महरा र पोखरेलको पुत्ला जलाएका हुन्। घोराही नेपाल विद्यार्थीसंगका युवाहरुले पुत्ला जलाएका थिए।

‘सरकार आफैले बनाएको विज्ञ समूहको प्रस्तावलाई लत्याएर राजधानी घोषणा गर्नु र दाङलाई राजधानी बनाउँछौँ भन्ने नारा लिएर चुनाव जितेका अन्य ठूला नेताहरुको बिरोधमा हामीहरुले उनीहरुको पुत्ला जलाएका हौँ,’ नेविसंघ क्षेत्र नम्बर ३ का सचिव लेखनाथ बुढाथोकीले भने ‘चुनावमा राजधानीको पासा फ्याकेर मत माग्ने तर आन्दोलनदेखि चुप लागेर बस्ने नेताहरुलाई हामी बहिस्कार गर्छौं।’

उच्च अदालत बार सर्वोच्चमा जाने

उच्च अदालत तुलसीपुर बार एशोशियशन सरकारले गरेको राजधानी घोषणाको बिरुद्ध सर्वोच्च अदालत पुग्ने भएको छ। शुक्रबार बसेको बार ईकाईको बैठकले सरकारकै प्राविधिक जानकारहरु सम्मिलित विज्ञहरुको प्रतिवेदन लत्याएर रुपन्देहीलाई राजधानी घोषणा गरिएको प्रति आपत्ति जनाउँदै सरकार बिरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको छ।

‘सरकारको यो गलत निर्णयका बिरुद्ध सबै सरोकारवालाहरुसंग छलफल गरेर सर्वोच्चमा रिट दायर गर्ने निर्णय भएको छ,’ बारका बरिष्ठ सदस्य बिष्णुमणी धितालले भने।

प्रकाशित: ५ माघ २०७४ १५:२३ शुक्रबार

दाङमा देउवा महरा पोखरेलको पुत्ला जलाईयो