राजनीति

आजपाद्वारा माघ १० गते मधेस बन्दको घोषणा

फाइल।

आम जनता पार्टी (आजपा) ले आगामी माघ १० गते मधेस बन्दको घोषणा गरेको छ। आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वित्तीय पीडित सङ्घर्ष समितिले मधेस बन्दको घोषणा गरेको हो।

बैंकहरुले मनोमानी ढंगले लिइएको ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त तथा सहकारीबाट गरिब किसानले लिइएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज रुपमा कर्जाको व्यवस्था गर्नुपर्ने लगायतका माग गर्दै आजपाले मधेस बन्दको घोषणा गरेको हो।

यी मागहरू उठाउँदै गत हप्ता आजपाले मधेस प्रदेशको राजधानी जनकपुरमा विरोध प्रदर्शन गरेको थियो। सरकारसँग यी माग गर्दै आजपाले यथाशीघ्र सम्बोधन गर्न आग्रह गरेको थियो। तर सरकारले आफूहरुको माग सम्बोधन गर्ने विषयलाई गम्भीर रुपमा नलिएको भन्दै आजपाले आम हडताल गर्ने अवस्थामा पुगेको हो।

आजपा मधेस प्रदेशका इन्चार्ज सुधीर यादव र अध्यक्ष उमेश कुशवाहाले संयुक्त रुपमा आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई दबाब दिने उद्देश्यले मधेस बन्दको घोषणा गरिएको जनाएका छन्। 

‘हामी मागहरुको सम्बोधन गर्न निरन्तर आवाज उठाई रहे पनि सरकार गम्भीर नदेखिएको सन्दर्भमा बाध्य भई सङ्घर्षको कार्यक्रम घोषणा गर्नु परेको छ’ आजपा मधेस प्रदेशका इन्चार्ज यादवले भने। 

आजपाले पौष १२ गते प्रदेश स्तरीय भेला वीरगन्जमा गर्ने, १३ पौष मसान्तसम्म स्थानीय तहमा पीडितहरूसँग अन्तरक्रिया तथा सङ्घर्ष समिति गठन गर्ने, १ माघ देखी ८ माघ सम्म प्रत्येक जिल्लामा अन्तरक्रिया तथा सङ्घर्ष समिति गठन गर्ने ९ माघमा प्रत्येक जिल्लामा मोटरसाइकल र्‍याली तथा मसाल जुलुस गर्ने र १० माघमा मधेस बन्द गर्ने कार्यक्रम रहेको आजपा प्रवक्ता चन्दभुषण साहले जनाएका छन्।

प्रकाशित: २६ मंसिर २०८० १०:५४ मंगलबार