राजनीति

म दुबईबाट फर्किंदै गर्दा यता ठूलो षड्यन्त्र बनिसकेछ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले पहिला भएका भ्रष्टाचारका काण्ड भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार एनसेलमा गर्‍यो भन्ने दुष्प्रचार गरेकोप्रति आपत्ति जनाएका छन्।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले दुबईबाट फर्किंदै गर्दा आफूले ठूलो षड्यन्त्रको नमूना पाएको बताए। उनले राष्ट्रको, जनताको, संविधान र लोकतन्त्रको हीतमा आफू अघि बढिरहेको बताए। उनले दुष्प्रचार गर्नेहरुलाई सोही स्तरबाट प्रतिवाद गर्न पनि आग्रह गरे।

उनले भने, ‘अर्बौं अर्बको पहिला पहिला भएका भ्रष्टाचारका काण्ड भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार प्रचण्डले गरेको छ, एनसेलमा भनेर प्रचार भयो। म दुबईबाट फर्किंदै गर्दा मैले दुष्प्रचारको, षड्यन्त्रको र घटिया प्रचारको नमूनाको रुपमा त्यसलाई लिएँ। मैले बाहिर केही प्रतिवाद गरिनँ। मैले राष्ट्रको हीतमा, जनताको हीतमा हाम्रो संविधान र हाम्रो लोकतन्त्रको हीतमा जे गर्नुपर्छ, दृढताको साथ अघि बढेँ। तपाईं कल्पना गर्नुस्, यति तलबाट मान्छेहरुले सोच्ने, भन्ने र खुला प्रचार गर्नसक्छन् भने तपाईं हामी जो सत्यको पक्षमा, न्याय, जनताको पक्षमा, राष्ट्रको पक्षमा लेख्ने बोल्ने भनेकाले त्यसको प्रतिवाद त्यही उचाईबाट, त्यही निचबाट होइन। यस्ता झुटो प्रचारहरु, यस्ता अरु पनि थुप्रै, प्रचार भएका छन्, तिनको प्रतिवाद गर्नुपर्छ र जनतालाई सही सूचना दिनुपर्छ।’

प्रकाशित: २५ मंसिर २०८० ०९:०९ सोमबार

पुष्पकमल दाहाल